Wednesday, May 22, 2024

बाहिरबाट ताला लगाएको चर्चभित्र कुमार प्रजा फेला

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १० गते । मनहरी बजारमा छिमेकीसँग विवाद भएपछि बेपत्ता भएको भनिएका राक्सिराङ गाउँपालिका ५ का पास्टर कुमार प्रजा मनहरी गाउँपालिका ४ सालघारी नयाँबस्तीस्थित एउटा चर्चमा फेला परेका छन् ।

स्थानीय युवा र इलाका प्रहरी कार्यालयले खोजी गर्ने क्रममा बाहिरबाट ताला लगाएको चर्च भवनभित्र लुकेर बसेको अबस्थामा उनलाई फेला पारिएको स्रोतले बताएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीले आइतबार बिहान ३ बजे उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय हेटौँडा लगेको प्रहरीले पुष्टि गरेको छ ।

छिमेकी सानुबाबु रुम्बासँगको ब्यक्तिगत लेनदेनको बिषयमा मनहरी बजारमा झगडा भएपछि कुमार बेपत्ता भएका थिए ।

भदौ ४ गते श्रीमती आइतीमायालाई फोन गरी मलाई अपहरण गरेर लगेको छ भनेर फोन कटाएका कुमारको खोजीका लागि नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकारिणी समिति, नेकपा एकीकृत समाजवादी राक्सिराङ गाउँ कमिटी लगायतले विज्ञप्ती जारी गरेको थियो ।

श्रीमान खोजी पाउँ भन्दै कुमारकी श्रीमतीले समेत जिल्ला प्रहरी कार्यालय हेटौँडामा जाहेरी दरखास्त दर्ता गराउनु भएको थियो ।
सामान्य लेनदेनको विवादलाई जातीय हिसावले ढाकछोप गर्न खोजिएको र नाटकीय ढंगले अपहरणको मुद्दा दायर गरिएको भन्दै मनहरीका युवाहरुले सो घटनाबारे आक्रोश पोख्दै आइरहेका थिए ।

कुमार प्रजा प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो ।

लोकप्रिय

Related Articles