मनहरी–साउन १० गते । मनहरी गाउँपालिकाले डेंगी संक्रमणबाट जोगिन अभियान सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै डेंगी रोकथाम तथा नियन्त्रणका लागि “खोज र नष्ट गर” अभियान सञ्चालन गर्न लागेको जनाएको हो ।
विगतको वर्षमा यस गाउँपालिकामा डेंगी संक्रमण माहमारीकोरुपमा फैलिएको र रोकथाम तथा नियन्त्रणमा ठुलो चुनौती खेप्नुपरेको बाध्यतालाई मध्यनजर गर्दै यस वर्ष समयमै अभियान सञ्चालन गर्न लागेको जनाएको हो ।
यस वर्ष पनि गाउँपालिकामा छिटफुटरुपमा डेंगी संक्रमण देखा परेकोले समयमै जनस्वास्थ्यमा समस्या आउन नदिनको लागि समयमै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
लामखुट्टेको वृद्धि विकास हुने स्थानहरु नष्ट गर्ने, घर वरिपरी सरसफाई गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने लगायतका “खोज र नष्ट गर” अभियान सञ्चालन गर्नको लागि गाउँपालिकाले सम्पुर्ण सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।
मनहरी गाउँपालिकाभित्र क्रियाशिल विभिन्न संघसस्थाहरु, टोल विकास, सहकारी, वन उपभोक्ता समिति लगायत सरकारी तथा गैह्रसरकारी संथाहरुलाई अभियान सञ्चालन गर्न गाउँपालिकाले अनुरोध गरेको हो ।