मनहरी–साउन १८ गते । पश्चिम मकवानपुरकै एकमात्र ठूलो स्वास्थ्य संस्थाको रुपमा रहेको मनहरी गाउँपालिका ७ स्थित मनहरी अस्पतालको अस्थायी भवन एसी जडानका लागि दाताको खोजी भएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले दाताहरुसँग एसी जडानका लागि सहयोग याचना गरिएको बताउनुभयो ।
उहाँका अनुसार अहिले इमरजेन्सी, फार्मेसी र ल्याबमा एसीको व्यवस्था गरिएको छ । दैनिक काम गर्ने स्वास्थ्यकर्मीहरु तथा बिरामी जाँचका लागि आउने सयौँ बिरामीहरु गर्मी समयमा बस्नै नसक्ने अबस्था आएकाले एसीको व्यवस्था गर्नुपरेको वडाध्यक्ष तितुङले बताउनुभयो ।
मनहरी ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूह, मनकामना सामुदायिक वन उपभोक्ता समूह, मनहरी ६ स्थित डिपाड सामुदायिक वन उपभोक्ता समूह एबम् जयलक्ष्भी हार्डवेयरका सञ्चालक यी राजु रिजालको समेत सहयोगमा एसी जडान गर्ने काम अघि बढेको उहाँले बताउनुभयो ।
बिरामी बिश्राम स्थल, फार्मेसी, इमरजेन्सी लगायत शाखाहरुमा एसी जडान गरिएपनि बिरामी जाँच गर्ने, थेरापी गर्ने, प्रशासनिक काम गर्ने कोठाहरुमा अझै एसीको व्यवस्था भएको छैन ।
‘सहयोग गर्न चाहने अन्य सहयोगी र शुभचिन्तकहरुलाई पनि एसी जडानका लागि सहयोग गर्न आह्वान गरेका छौँ, दाताले आफ्नो नाम लेखेर एसी जडान गरिदिनु भए हामी आभारी हुने थियौँ ।’
मनहरी अस्पतालमा अहिले दैनिक ३ सयको हाराहारीमा बिरामी जाँच र उपचार भइरहेको छ ।
दुई जना डाक्टरसहित ल्याब, आफ्नै फार्मेसी, थेरापी सेवासहित अस्पतालले सेवा दिइरहेको सिनियर अहेब शिवराम बानियाँले बताउनुभयो ।
मनहरी अस्पतालको आफ्नै पहलमा स्थापना भएको फार्मेसीले राम्रो कारोबार गरिरहेको छ भने सोही स्रोतबाट समेत अन्य आन्तरिक स्रोतका कर्मचारीहरु राख्न सफल भएको छ । यद्यपि, राक्सिराङ र कैलाश गाउँपालिकाका समेत बिरामीहरुको पहिलो गन्तब्यको रुपमा मनहरी अस्पताल रहेको छ ।