हेटौँडा–साउन ६ गते । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अब छिट्टै नै मानव बेचबिखन र ओसारपसार विरुद्धको संरक्षण नीतिले पूर्णत पाउने बताउनु भएको छ ।
उहाँले आगामी दशैँसम्ममा संरक्षण नीतिले पूर्णता पाएर कार्यान्वयन हुने पनि बताउनुभयो ।
हेटौँडामा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को मस्यौदाबारे छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री मोक्तानले मानव बेचबिखन र ओसार पसार रोक्नका लागि बागमती प्रदेश सरकारले सरोकारवाला निकायसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बागमती प्रदेश सरकारले मानव बेचबिखन नियन्त्रणका लागि बनाउँदै गरेको संरक्षण नीतिले प्रभावकारी काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
उहाँले जिल्ला समन्वय समितिको तर्फबाट संरक्षण नीतिका कार्यान्वयनका लागि खेल्नुपर्ने भूमिकामा कुनै कमी नरहने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास शमहाशाखा प्रमुख गोपाल कँडेलले मस्यौदाको पृष्ठभूमिसहित बर्तमान अबस्था, समस्या, समाधानका उपायहरु तथा चुनौति र अबसरका सम्बन्धमा प्रष्ट्याउनु भएको थियो ।
त्यसैगरी प्रदेश बाल अधिकार समितिका सदस्य एबम् संरक्षण नीतिका मस्यौदाकार प्रकाश खतिवडाले नीति कार्यान्वयनका रणनीतिहरुबारे प्रकाश पार्नु भएको थियो । अर्का मस्यौदाकार अधिवक्ता जगन्नाथ सुवेदीले पनि मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको संरक्षण नीतिका महत्व र बिशेषताहरुबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख खुबिरामअधिकारी, प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधि, शान्ति फाउन्डेसनका संस्थापक अध्यक्ष एबम् कार्यकारी निर्देशक सन्चमाया तामाङ, जिल्ला बार एशोसिएसनका अध्यक्ष अप्सरा बस्नेत, माइती नेपालकी संयोजक माया लामा, हिमराइट्स मकवानपुरकी कुमारी वाइबा लगायतले मस्यौदाबार सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।
सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा मानव बेचबिखन नियन्त्रण र रोकथामका लागि क्रियाशील गैरसरकारी संस्था, नेपाल प्रहरी, सरकारी निकायका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको सहभागिता थियो भने टियर फण्ड नेपाल र शान्ति फाउण्डेसनको सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको संरक्षण नीति निर्माणका लागि शान्ति फाउन्डेसनले सुरुदेखि नै सामाजिक परिचालनमार्फत नीतिगत बहस गर्दै आइरहेको छ भने बागमती प्रदेशस्तरीय नीति निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग समेत गरेको जनाइएको छ ।