मनहरी–साउन ४ गते । करार सेवामा रहेका मनहरी गाउँपालिकाका २३ जना कर्मचारीलाई मनहरी गाउँपालिकाले हटाएको छ ।
साउन १ गते बसेको कार्यपालिका बैठकले उद्यम विकास सहजकर्ता गोपीराम बल, प्राविधिक सहायक उज्वल रानामगर, मनहरी गाउँपालिका १ की अहेब सुष्मा श्रेष्ठको करार सेवा नवीकरण नगर्ने निर्णय गरेको हो ।
संघीय सरकारले बजेट उपलब्ध नगराएकाले उद्यम विकास सहजकर्ता बलको सेवा नवीकरण नगरिएको निर्णयमा उल्लेख छ भने रानामगर र श्रेष्ठको कार्यसम्पादन सन्तोषजनक नरहेको आरोपसहित सेवा अबधि नथपिएको बताइएको छ । रानामगर नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाका सुपुत्र हुनुहुन्छ ।
त्यसैगरी गाउँपालिकाले गाईमा देखिने लम्पी स्कीन रोग महामारीका बेला खटाएका ५ जना कृषि प्राविधिकलाई पनि पदमुक्त गरेको छ ।
हाल महामारी नियन्त्रणमा रहेको जनाउँदै गाउँपालिकाले उनीहरुको करार अबधि नथप्ने निर्णय गरेको हो ।
मनहरी गाउँपालिकाबाट चितवन र हेटौँडातर्फ निकासी हुने गिटी, बालुवा, ढुंगाबापतको कर संकलनका लागि भर्ना गरिएका १५ जना कर्मचारीलाई पनि हाल निकासी बन्द रहेकाले करार सेवा अबधि नथप्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । कर संकलन गर्न आफू अनुकूलका कर्मचारी गाउँपालिकाले भर्ती गरेको थियो ।
यी २३ जना बाहेक अन्य सबै शाखाहरुमा कार्यरत करार सेवाका कर्मचारीहरुको अबधि पुस मसान्तसम्म थप गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।
बैठकले २०८० असार २५ गतेसम्म पेस भएका योजनाका फाइलहरु र भुक्तानी गरी फरफारक गरिएका योजनाहरु अनुमोदन गरेको छ भने काम सम्पन्न हुन बाँकी रही म्याद थपका लागि माग गरेका १२ वटा योजनाका उपभोक्ता समितिलाई म्याद थप गर्ने निर्णय गरेको छ ।
कार्यपालिकाले बैठकले रातसाँझ समेत बसेर गाउँपालिकाको काम गर्ने कर्मचारीहरुलाई अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृतले आफूले पाउँदै आएको तलब सुविधामा अब ४५ प्रतिशत थप सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी लेखा प्रशासनमा काम गर्ने कर्मचारीले ३५ प्रतिशत थप सुविधा, राजश्व, जिन्सी र प्रशासनका कर्मचारीले ३० थप प्रतिशत सुविधा पाउनेछन् ।
योजना, प्राविधिक, कृषि, पशु, शिक्षा, स्वास्थ्य शाखासहित सबै शाखामा कार्यरत कर्मचारी र वडा सचिवले समेत २० प्रतिशत अतिरिक्त सुविधा प्राप्त गर्ने निर्णयमा उल्लेख छ ।
कार्यालय सहयोगी र चालकले भने १५ प्रतिशत मात्रै अतिरिक्त सुविधा पाउनेछन् । बैठकले विभिन्न स्वास्थ्य संस्थामा रिक्त रहेको अहेब र अनमी पदमा नयाँ भर्ना प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको ।