राक्सिराङ–असार ३ गते । राक्सिराङ गाउँपालिकामा गाँजा विस्थापित गर्न कफि खेतीलाई प्रोत्साहन दिइएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनमा लागु औषध गाँजा विस्थापित गर्न मकवानपुर जिल्लाको राक्सिराङको विभिन्न भाग र चितवन जिल्लाको परेवाकोटमा कफिको विरुवा रोपिएको हो ।
युवाहरुलाई प्रत्यक्ष रोजगारमा संलग्न गराउन र लागु औषध गाँजालाई विस्थापित गर्न कफि खेति थालनी गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
बुधबार राक्सिराङका ९ वटै वडामा कफी खेती गर्न प्रदेश प्रहरीले कफिको विरुवा अगुवा कृषकहरुलाई वितरण तथा ५ नम्बर वडामा कफीको विरुवा रोपिएको थियो ।
वाग्मती प्रदेश प्रहरी कार्यालयसँगको सहकार्य तथा समन्वयमा मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीको सुरुवात गरेको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक किरण राणाको उपस्थितिमा कफी खेती सुरु गरिएको हो ।
यसक्षेत्रका किसानको जीवनस्तर सुधार्न र आत्मनिर्भर बनाउन कफी खेतीको सुरुवात गरिएको हो ।
गाँजा खेतीलाई निरुत्साहित तथा यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजान र गाँजाको विकल्पको रुपमा कफी खेतीलाई अगाडि बढाइएको प्रालिले जनाएको छ ।
यस अघि प्रालिले चितवन जिल्लाको पहाडी भू–भागमा अवस्थित राप्ती नगरपालिका–१, परेवाकोटबाट कफी रोप्न सुरु गरेको थियो ।
साथै कार्यक्रमम राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्टतौला, ६ नम्बर वडा अध्यक्ष अक्कल बहादुर मुक्तान, पत्रकार तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।