Sunday, February 9, 2025

सुन्दर रुप ग्रहण गर्दै जलपरी झरना परिसर (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

राक्सिराङ–असार १६ गते । राक्सिराङ गाउँपालिकाको जलपरी झरना परिसरको सौन्दर्यतामा बृद्धि भएको छ ।

प्राकृतिक रुपले आकर्षक र सुन्दर जलपरी झरना परिसरमा बागमती प्रदेश सरकारको लगानीमा राक्सिराङ गाउँपालिकाले भौतिक संरचनाहरु निर्माण गरेपछि व्यवस्थित बनेको हो ।

राक्सिराङ ३ स्थित सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने जलपरी झरना र त्यसको आडैमा रहेको चमेरो गुफासम्म पुग्नका लागि अहिले दोहोरो बाटो निर्माण भएको छ ।

यसअघि बनाइएको फलामे रेलिङसहितको बाटोलाई सुधार गरिएको छ भने त्यसको बिपरिततर्फ फलामे पुलहरु समेत निर्माण गरी अर्का बाटो निर्माण गरिएको छ ।

फलामे रेलिङ र सिन्धुपाल्चोकबाट ल्याइएको ढुंगा बिछ्याएर झरनासम्म जाने बाटाहरु आकर्षक बनाइएको छ ।

झरना पुग्ने बित्तिकै सवारी साधन पार्किङ र त्यसभन्दा दक्षिणतर्फको जंगलमा दुईवटा ट्रस्ट भवन निर्माण गरिएका छन् । ती ट्रस्टहरु वन भोजका लागि उपयोग गरिनेछन् । सार्बजनिक शौचालय निर्माण भएको छ भने झरनाको तल्लो भागमा टिकट घरका लागि भवन निर्माण भएका छन् ।

‘झरना नजिकै जलपरीको एउटा मूर्ति राख्ने सोच छ’, राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले बताउनुभयो । तर, यसबर्ष बागमती प्रदेश सरकारले जलपरी झरनाको लागि बजेट बिनियोजन गरेको छैन ।

तैपनि जलपरी झरनालाई दशैँअघि नै प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकास गर्नेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ । ‘हामी अब हरेक संघसंस्था र हाम्रो आन्तरिक बैठकहरु समेत यसैमा सञ्चालन गर्ने गरी तयारी गर्छाै’, मल्लले भन्नुभयो ।

मनहरी बजारबाट मोटरसाइकलमा ३५ मिनेटमै पुग्न सकिने जलपरी झरना क्षेत्रको बहुआयामिक विकासका लागि हरेक क्षेत्र र ढंगबाट पहल कदमी लिइने गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ बताउनुहुन्छ ।

अबको केही समयभित्र झरना सञ्चालनका लागि समिति निर्माण गरी कर्मचारीको व्यवस्थापन गर्ने र प्रवेश टिकटको व्यवस्था मिलाइने राक्सिराङ गाउँपालिका ३ नं वडाध्यक्ष उत्तम वाइबाले बताउनुभयो ।

जलपरी झरना परिसरमा भौतिक संरचनाहरु निर्माण क्रम अहिले पनि जारी नै छ । यसको सौन्दर्य बढाउनका लागि झाडी सफाई भएको छ भने फूलका विरुवा रोपिएका छन् ।

जलपरी झरना पुग्ने बित्तिकै परिसरमा निर्माण भएको सवारी साधन पार्किङस्थल ।
जलपरी झरनाभन्दा तल प्राकृतिक पौडी पोखरी (स्वीमिङ पुल) बनाउने स्थल । केही समयभित्रै स्वीमिङ पुल बनाइने र सशुल्क सञ्चालन गरिनेछ ।
जलपरी झरना पुग्नका लागि बनाइएको फलामे पुलसहितको बाटो ।
जलपरी झरना पुग्नका लागि रेलिङ र पोखरेली ढुंगा बिछ्याइएको बाटो । बाटोमा ढुंगा बिछ्याउने क्रम जारी छ ।
जलपरी झरना परिसरमा निर्मित ट्रस्ट । वनभोजका लागि यी भवन प्रयोग हुनेछन् भने सानातिना गोष्ठी र सेमिनारहरु सञ्चालन गर्न सकिनेछ ।
जलपरी झरना परिसरमा निर्मित ट्रस्ट भवन अनुगमन गरेर फर्कँदै राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, ३ नं वडाध्यक्ष उत्तम वाइबासहितको टोली ।
जलपरी झरना परिसरमा निर्मित शौचालय ।
जलपरी झरना परिसरमा फूलको बिरुवा रोप्ने तयारीमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ।
जलपरी झरना कर्कलोको पातमा राखेर मौलिक खानेकुरा खाँदै गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ ।
जलपरी झरना परिसरमा फूलको बिरुवा रोप्ने तयारीमा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एबम् सञ्चारकर्मी ज्ञानेन्द्र तामाङ ।
जलपरी झरना परिसरमा फूलको बिरुवा रोप्ने तयारी गर्दै राक्सिराङ गाउँपालिका ३ नं वडाध्यक्ष उत्तम वाइबा ।

तस्वीरहरुः शिवकुमार काशी/उमेश राई (मनहरीलाइभ डटकम)

लोकप्रिय

Related Articles