Saturday, September 14, 2024

चिउरी जोगाएर आर्थिक समुन्नतिको ढोका खुल्ने विश्वास

ताजा / भरखरै प्राप्त

मनहरी–असार १३ गते । चेपाङको संस्कृतिसँग जोडिएको चिउरीको रुख जोगाउन सके पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक समुन्नति हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्कासहितका सरोकारवालाहरुले चिउरीलाई एउटा बहुउपयोगी बृक्षको रुपमा परिभाषित गर्दै यसको संरक्षण र उपयोगिताको आवश्यकताबारे चासो व्यक्त गर्नु भएको हो ।

मनहरीस्थित डिभिजन वन कार्यालय राप्ती परिसरमा बुधवार बिहान ‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ नामक पुस्तकको सार्बजनिक गर्दै मन्त्री खड्काले चिउरीको संरक्षण गर्दै यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र नीतिगत व्यवस्थाका लागि प्रदेश सरकारको तर्फबाट पहल हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरी पूर्व राज्यमन्त्री एबम् चेपाङ अगुवा सन्तबहादुर चेपाङले चिउरी प्रवद्र्धनका लागि आफूले पटक पटक पहल गरेको बताउँदै अहिले वन तथा वातावरण मन्त्रालयमार्फत बजेट बिनियोजन हुनुपर्ने चिउरी संरक्षणको काम सामाजिक मन्त्रालयतिर देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले २८ बर्ष अघि आफू कबुलियती वनको प्राविधिकको रुपमा आउँदा पनि चिउरी संरक्षणकै बहस भइरहेको र अहिले पनि त्यही बिषयमा बहस भइरहेको पाइएकाले सरकारले गर्नुपर्ने काम र समुदायले निर्वाह गर्नुपर्ने भूमिकामाथि नै प्रश्न उठेको बताउनुभयो । उहाँले चिउरी संरक्षणलाई आर्थिक पाटोसँग जोडेर अध्ययन गरिनुपर्ने भन्दै हरेक दृष्टिकोणले चिउरीको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले चिउरी संरक्षण, सालक संरक्षण लगायत कार्यक्रमहरु सुचारु गरी डिभिजन वन कार्यालय राप्तीले अहम् भूमिका खेलिरहेको बताउनुभयो । उहाँले कतिपय कामहरु प्रचारमुखी पनि हुने भन्दै जति धेरै प्रचार हुन्छ, उति धेरै मान्छेहरुले त्यस कुरामा ध्यान दिनेगरेको बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, चिउरीको बिषयमा पिएचडी अध्ययन गरिरहनु भएका श्रीहरि भट्टराई, राक्सिराङ गाउँपालिका ८ नं वडाध्यक्ष हविल प्रजा, ५ नं वडाध्यक्ष हरि प्रजा, कार्यपालिका सदस्य सिंगलाल प्रजासहितका जनप्रतिनिधिहरु, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु, चिउरी व्यवस्थापनमा ध्यान दिइरहेका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरु र उपभोक्ताहरुले चिउरीको जगेर्ना, विकास र बजार व्यवस्थापनको बारेमा चर्चा गर्नु भएको थियो ।

डिभिजन वन कार्यालय राप्ती र राक्सिराङ गाउँपालिकाको संयुक्त पहलमा प्रकाशित पुस्तक मन्त्री खड्काले चेपाङ समुदायका मानिसहरुलाई हस्तान्तरण गरी सार्बजनिक गर्नु भएको थियो ।

पुस्तकमा उठेका बिषयहरुमा लेखक एबम् डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले स्पष्ट पार्नु भएको थियो । कार्यक्रम सुरु हुनुअघि डिभिजन वन कार्यालय राप्तीको परिसरमा मन्त्री खड्काले चिउरीको बिरुवा रोप्नु भएको थियो भने कार्यालय परिसरमा रहेका नर्सरीको समेत अनुगमन गर्नु भएको थियो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा चितवनको राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रबाट चिउरी संरक्षणकर्मीहरुको बाक्लो सहभागिता थियो भने सिलिंगे सामुदायिक वन उपभोक्ता समूह राक्सिराङ ६ ले उपलब्ध गराएको चिउरी फलको स्वाद पाहूनाहरुलाई चखाइएको थियो ।

लोकप्रिय

Related Articles