मनहरी–असार ११ गते । मनहरी गाउँपालिकाले १३ औँ गाउँसभाको पहिलो बैठकबाट आर्थिक बर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र आर्थिक ऐन पारित गरेको छ ।
नीति तथा कार्यक्रममा खासै नौला बिषय छैनन् । मनहरी गाउँपालिकाका नदी उकास जमिनहरुमा नरिवलको बिरुवा रोप्ने कुरालाई गाउँपालिकाले अघि सारेको छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा नरिवलको बिरुवा रोप्ने कुरा उल्लेख भएसँगै मनहरी गाउँपालिका ८ र ९ को सीमा क्षेत्रमा ठूलो सिमसार ताल निर्माण गर्ने उल्लेख छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने उक्त स्थानमा सर्लाहीको ‘भरत ताल’ जस्तै ठूलो ताल निर्माण गर्ने र पर्यटकीय क्षेत्र निर्माण गर्ने उल्लेख छ ।
गाउँपालिकाले गत आर्थिक बर्षमा झैँ यस बर्ष पनि २ हजार परिवारलाई निः शुल्क स्वास्थ्य बीमा गराउने योजनालाई अघि सारेको छ । त्यस्तै निर्माणाधीन ५ वटा पक्की पुलका लागि बजेट बिनियोजन गर्ने, गाउँपालिकाको भवन निर्माण गर्ने, बाँकी रहेको ४ नं वडाको भवन निर्माण गर्ने, मसिने र जोगीतालका ठूला खानेपानी योजनाहरुको निरन्तरता दिने, २ नं वडाका सडकलाई स्तरीकरण गर्ने लगायतका बिषयहरुलाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिका क्षेत्रभित्र सूर्तिजन्य पानपराग, गुट्खा आदि जस्ताबस्तुको उपभोगमा रोक लगाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँसभामा उपाध्यक्ष सीता पुलामी मगरले आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्तुत गर्नु भएको आर्थिक ऐन समेत पारित गरिएको थियो ।