Friday, September 13, 2024

मनहरी सव स्टेशनबाट विद्युत बितरण कहिले हुन्छ ?

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ २४ गते । एकातिर मनहरीबासी कमजोर विद्युत प्रबाहका कारण गर्मीमा फ्यान समेत घुमाउन सक्ने अबस्थामा छैनन् ।

भोल्टेज कम हुँदा मनहरी क्षेत्रका फ्यान, फ्रिज, मोटर चलाउन समस्या परिरहँदा मनहरी गाउँपालिका ८ बेलुवामा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सव स्टेशन निर्माण कार्य अत्यन्त सुस्त भएको भन्दै उपभोक्ताहरु आक्रोशित छन् ।

नेपाल विद्युत प्राधिकरणले केन्द्रीय रुपमै ठेक्का आह्वान गरेर बेलुवास्थित पूर्वपश्चिम सडकको उत्तरतर्फ सब स्टेशन निर्माण थालेको हो । अधिकाँश भौतिक संरचनाहरु निर्माण सम्पन्न भएर गत बैशाख महिनाकै पहिलो साताबाट सेवा दिने बताइएपनि अहिलेसम्म बिद्युत बितरणमा ढिलाइ भइरहेको छ ।

सव स्टेशनबाट विद्युत बिस्तार गर्दा पूर्ण भोल्टेज आउने र मनहरी क्षेत्रमा उपयोग हुँदै आएको स्टेप्लाइजर, इन्भर्टरहरु समेत आवश्यक नरहने प्राविधिकहरु बताउँछन् । तर बैशाखमै बितरण गर्ने भनिएको विद्युत अहिलेसम्म बितरण हुन नसक्दा भने गर्मीको उकुसमुकुस सहन बाध्य छन् उपभोक्ताहरु ।

यसैबीच सव स्टेशन निर्माण र सेवा प्रबाहमा ढिलाइ भएकोबारे प्राधिकरणका पदाधिकारीहरुसँग मनहरी गाउँपालिकाले छलफल गरेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, ८ नं वडाध्यक्ष नारायण उप्रेती लगायतले विद्युत प्राधिकरणका पदाधिकारीहरुसँग निर्माणाधीन सव स्टेशनमै छलफल गर्नु भएको हो ।

छलफलका क्रममा प्राधिकरणले जेठ महिनासम्ममा सबै काम टुंग्याएर असारको पहिलो साताबाट विद्युत बितरण गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताउनुभयो ।

‘चितवनका गाउँहरुमा रुख काट्नुपर्ने काम बाँकी नै भएकाले ढिलाइ भएको भन्ने प्राधिकरणको स्पष्टिकरण छ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘जतिसक्दो कामलाई द्रूतगतिमा बढाएर असारको पहिलो साताबाट विद्युत बितरण गर्न सकिने अनुमानका साथ हाम्रो छलफल सकिएको छ ।’

लोकप्रिय

Related Articles