मनहरी–जेठ २३ गते । मनहरी गाउँपालिकामा बाल श्रम निबारणका लागि एक दिने प्रशिक्षणात्मक गोष्ठी सञ्चालन भएको छ ।
मनहरी गाउँपालिका र बाल कल्याण समाजको संयुक्त आयोजनामा गोष्ठी भएको हो ।
गोष्ठीमा आफ्नो प्रशिक्षणात्मक प्रस्तुति दिँदै आसमान नेपालका तर्फबाट मनिराम आचार्यले नेपालमा बालश्रमको अबस्था, बालश्रम न्युनिकरणका लागि स्थानीय तहले गर्नुपर्ने अभ्यासका बारेमा अभिमुखीकरण गराउनु भएको थियो ।
उहाँले बालमैत्री गाउँपालिकाको रुपमा रहेको मनहरी गाउँपालिकालाई अझै बालश्रमको अन्त्यका लागि छलफल गर्नुपर्ने बिषय आउनु नै दुःखद् रहेको धारणा राख्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आउँदै गरेको नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा बालश्रम उन्मुलनका लागि ठोस कार्यक्रम ल्याउनका लागि गोष्ठी फलदायी रहेको बताउनुभयो ।
‘हामी बालमैत्री गाउँपालिका भन्छौँ, बालश्रमको अबस्था देखेर हामी आफै लज्जित छौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘यो लज्जाको बिषयलाई हामीले किनारा लाउने गरी अघि बढ्नु जरुरी छ ।’
उपाध्यक्ष सीता पुलामी मगरले पनि स्थानीय सरकारको जिम्मेवारीभित्र पर्ने बालश्रमको अन्त्यका लागि अधिकतम प्रयत्नहरु भइरहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले बालबालिकाका जटिल बिषयहरुको सम्बोधन गर्नुपर्ने आवश्यकता रहँदा रहँदै पनि यस बर्ष बजेट घटेर प्राप्त हुने भएकाले सबै समस्याहरुको समाधान गर्न सम्भव नरहेको बताउनुभयो ।
कार्यक्रममा श्रम कार्यालय हेटौँडाका छन्दनारायण श्रेष्ठले श्रमसँग जोडिएका हरेक बिषयबस्तुहरुबारे श्रम कार्यालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, ३ नं वडाध्यक्ष अनन्त प्रकाश अर्याल, ४ नं वडाध्यक्ष प्रकाश थापासहित कार्यपालिका सदस्यहरु सेतिमाया तामाङ, सविता सुवेदी, कान्छीमाया बोट लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यस्तै मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, योजना शाखा प्रमुख राजेन्द्र चौलागाई, लेखा शाखा प्रमुख राजेन्द्र भट्टराई, प्रशासन शाखा प्रमुख सिर्जना बर्ताैला, सूचना तथा प्रविधि शाखा प्रमुख आशिष मल्ल, सामाजिक सुरक्षा शाखा प्रमुख दीपक अधिकारी, बाल सञ्जालका अध्यक्ष आशिष बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम ग्लोबल मार्च, राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपाल, स्वतन्त्रता अभियान लगायतको सहकार्यमा आयोजना भएको हो ।