राक्सिराङ–बैशाख १६ गते । साबिक सरिखेत गाउँ विकास समिति वडा नं २ (हाल राक्सिराङ गाउँपालिका वडा नं ३) पलाँसेस्थित भ¥याङकाली मन्दिरसँगै जोडिएको एउटा हरियाली सिमसार क्षेत्र अब सीता–अशोक वाटिकामा परिणत हुने भएको छ ।
यसअघि ‘अशोकघारी’ नाउँले परिचित यो क्षेत्र धार्मिक र ऐतिहाँसिकता मात्रै बोकेको छैन, पर्यटकीय क्षेत्रका हिसाबले समेत चर्चित छ । खेर गइरहेको अशोकघारीलाई सीता–अशोकवाटिका बनाउने काम गर्दैछ डिभिजन वन कार्यालय राप्ती मनहरीले ।
घुम्दै जाँदा सिमसार क्षेत्रजडित ग्रीनबेल्ट फेला परेपछि कार्यालयका प्रमुख बिष्णुप्रसाद आचार्यलाई त्यहाँको हरियालीबारे जान्ने मन भयो । ग्रीनबेल्टमा रहेको हरियाली जंगल अशोक जातको वनष्पति भएको पत्ता लागेपछि यसलाई धार्मिकता, ऐतिहाँसिकतासँगै पर्यटकीय हिसावले समेत अध्ययन गरी संरक्षण गर्ने इच्छाशक्ति पलाएको कार्यालय प्रमुख आचार्य बताउनुहुन्छ ।
‘हिन्दू धर्मग्रन्थहरुमा जब भगवान राम सपरिवार वनबास जान्छन्, त्यतिखेर राक्षस रावणले रामपत्नी सीतालाई हरेर लंकामा लुकाएर राखेको कथा छ’, कार्यालय प्रमुख आचार्य ती कुरा सम्झँदै अघि भन्नुहुन्छ–‘सीतालाई लंकास्थित अशोकवाटिकामा राखिएको भनिएको स्थानको रुपमा यही ‘अशोकघारी’ लाई सम्झन सकिन्छ ।’
अशोक वाटिकामा त्यतिखेर सीताालाई अपहरण गरी रावणले लुकाइराख्दा सीताको रेखदेखको निम्ति एकजना महिला राक्षस प्रतिनिधिलाई खटाइएको धर्मग्रन्थमा उल्लेख छ । ती पात्रको नाम हो–त्रिजटा ।
राक्षस प्रतिनिधि भएपनि त्रिजटाले सीता एक असामान्य नारी भएकाले उनलाई राक्षसी व्यवहार गर्न नहुने भन्दै राम्रोसँग स्याहार गरेको घटना धर्मग्रन्थहरुमा पढ्न पाइन्छ ।
लंकामा रहेको अशोकवाटिका, त्यही अशोकवाटिकाभित्र लुकाएर राखिएकी रामपत्नी सीता र उनलाई रेखदेखका लागि राखिएकी त्रिजटाको स्मरण गर्दै राक्सिराङ ३ पलाँसेमा रहेको ‘अशोकघारी’ मा सीता र त्रिजटाको मूर्ति स्थापना गर्न थालिएको हो ।
‘अशोकघारी होइन, सीता–अशोकवाटिका भनौँ’, कार्यालय प्रमुख आचार्यले भन्नुभयो–‘सीता अशोकवाटिकामा सीता र त्रिजटा छन् भनेर अबका दिनबाट सम्झने गरौँ ।’
सीता जयन्तीकै अबसर पारेर शनिबार सीता–अशोक बाटिकामा सीता र त्रिजटाको मूर्ति स्थापनाका लागि गाउँपालिका अध्यक्ष राजकुमार मल्लसहितका सरोकारवालाको उपस्थितिमा शिलान्यास गरिएको छ ।
ठूला र मध्यम उचाइका रुख, लहराजस्ता बांगाटिंगा हाँगाहरु र निख्खर हरिया पात तथा फुल्ने सिजनमा राताम्य हुने गरी फुलेका अशोकघारीलाई सीता–अशोकवाटिकामा परिणत गर्न सरकारले ध्यान दिएको उहाँको भनाई छ ।
सीता–अशोकवाटिकामा अहिले पनि ४० वटाभन्दा बढी रुखहरु छन् । यद्यपि २०५० सालअघिको चुर्लिङ खोलाको बिनाशकारी बाढीले अशोकवाटिकामा ठूलो क्षति पु¥याएको थियो ।
कार्यालय प्रमुख आचार्यका अनुसार सीता–अशोकवाटिकामा मूर्तिकार हर्क लामाले ३ फिटको मूर्ति निर्माण गर्दैछन् ।
अबको ४५ दिनभित्रमा मूर्ति निर्माणको काम भइसक्ने कार्यालयले जनाएको छ । सीता–अशोक वाटिकालाई अशोकको अध्ययन र बीऊ उत्पादन केन्द्रको रुपमा पनि विकास गर्ने लक्ष्य राखिएको छ ।
डिभिजन वन कार्यालय राप्ती मनहरीले स्थानीय भ¥याङ कालिका सामुदायिक वन उपभोक्ता समूहमार्फत सीता–अशोक वाटिकाको संरक्षणसम्बन्धी काम गरिरहेको छ ।
सीता–अशोकको संरक्षणका लागि पर्खाल निर्माण गर्न डिभिजन वन कार्यालय राप्ती मनहरीबाट गत आर्थिक बर्षमा ५ लाख रुपियाँ लगानी भएको थियो भने यस आर्थिक बर्षमा १० लाख रुपियाँ लगानी हुनेछ भएको छ ।
सीता–अशोकवाटिकालाई धार्मिक हिसावले पनि चिनाउने प्रयत्न राक्सिराङ गाउँपालिकाले पनि गरिरहेको छ ।
नजिकै रहेको ऐतिहाँसिक भ¥याङ धारा, नर्कटघारी र भ¥याङकालिका मन्दिर एकै करिडोरका सिमसार क्षेत्रमा रहेका छन् ।
यी तिनै क्षेत्रलाई संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ । ‘हामी यी ऐतिहाँसिक र धार्मिक क्षेत्रहरुको विकास, बिस्तार र संरक्षणका लागि प्रतिवद्ध छौँ’, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो ।