Wednesday, May 22, 2024

चुनावमा खर्चै नभएको स्वतन्त्र उम्मेदवार सुवेदीको दाबी

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख ११ गते । २०७९ मंसीर ४ गतेको प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्नु भएका मनहरी ८ सिमपानी निबासी रामहरि सुवेदीको चुनावी खर्च शून्य रहेको दाबी गरिएको छ ।

उहाँले निर्वाचन आयोगमा पेस गर्नु भएको खर्च विवरणमा चुनावी खर्च शून्य देखाइएको हो ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ख मा उहाँ स्वतन्त्र उम्मेदवारको रुपमा रहनु भएको थियो । तर, चुनावमा कार्यकर्ता परिचालन, पर्चा पोष्टर तथा प्रचारप्रसारका कुनै पनि काम नगरिएकाले खर्च शून्य रहेको उहाँले बताउनुभयो ।

‘उम्मेदवारी दिए पनि कुनै राजनीतिक सक्रियता नरहेकाले खर्च गरिएन र सोही बमोजिमको विवरण निर्वाचन आयोगमा पेस गरेको छु’, उम्मेदवार सुवेदीले भन्नुभयो ।

अवकाशप्राप्त शिक्षकको रुपमा जीवन बिताइरहनु भएका सुवेदी लामो समयदेखि नेकपा एमालेसँग सम्बन्धित व्यक्ति हुनुहुन्छ । तर, उहाँले के कति कारणले स्वतन्त्र उम्मेदवारी दिनुभयो खुलाउनु भएको छैन ।

यदपि, नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई नै उहाँले सघाउनु भएको बुझिएको छ ।

लोकप्रिय

Related Articles