Sunday, February 9, 2025

महिलाका लागि छुटयाएको बजेट खोई अध्यक्ष ज्यू !

ताजा / भरखरै प्राप्त

मनहरी–चैत १६ गते । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई वडा नं १ का महिलाहरुले महिलाको बृत्ति विकासका लागि बिनियोजित बजेट के कसरी कार्यान्वयन भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

डब्लुपीडी नेपाल इन्सेक नेपालले सञ्चालन गरेको अधिकार तथा आर्थिक विकास मार्फत महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित सार्बजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरुबीच अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रश्न गरेका हुन् ।

स्थानीय अगुवा महिला नितुमाया थिङले भन्नुभयो–‘महिला र बालबालिका शीर्षको बजेट के कसरी कार्यान्वयन भइरहेको छ ? हामीलाई कुनै पनि जानकारी गराइएको छैन, किन हो अध्यक्ष ज्यू !’ उहाँले यस्ता बिषयहरुमा महिला समूहहरुसँग छलफल गरेर अघि बढ्न वडा कार्यालय, जनप्रतिनिधिहरु र पालिकालाई आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा वडा नं १ मा सोलार प्रणालीको सिंचाई लामो समयदेखि पूर्ण नभएको, स्वास्थ्य चौकी निर्माण सुस्त भएको, स्थानीय विद्यालयहरुमा बाबुआमा नभएकाहरुलाई पनि सशुल्क भर्ना गर्नुपर्ने अबस्था रहेको, महिलाहरुको पाठेघर र आँखा जाँच कार्यक्रम सञ्चालन नभएको जस्ता बिषयहरु उठान भएको थियो ।

त्यसैगरी गाउँ समाजमा जाँडरक्सी खाने, दिनभरि तास खेलेर घर पुगेका श्रीमानहरुले साँझपख महिलालाई मानसिक तनाव दिने र सामाजिक असुरक्षा पैदा गर्ने कार्य समेत गर्नेगरेको महिलाहरुले बताएका थिए ।

कार्यक्रममा सहभागीहरुका प्रश्नको जबाफ दिँदै वडाध्यक्ष शिवप्रसाद खनालले स्थानीय महिलाहरुले उठाएका हरेक सबाललाई आगामी दिनमा कार्यान्वयन गरिँदै लगिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘तपाईहरुले मलाई गाली गर्न नछाड्नुहोस्, दुई दुई पटक वडाध्यक्षमा जिताएर मलाई लगाउनु भएको गुण तिर्नुपर्नेछ ।’

कार्यक्रमको पूरै अबधिमा आएका गुनासोहरु सुनेपछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जनस्तरमा हुने सबैखाले अन्तरक्रियाहरुमा आफू सहभागी हुने र जनताको गुनासो सुनेर योजना निर्माण गर्ने कार्यलाई ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले ठेकेदारलाई पटक पटक ताकेता गरेर स्वास्थ्य चौकी निर्माणको कामलाई निरन्तरता दिन कागज समेत गरिएको सुनाउँदै छिट्टै स्वास्थ्य संस्था चौकी निर्माण कार्य सुचारु हुने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य चौकीकी प्रतिनिधि मनजिरा डंगोल, वडा सचिव सुरेन्द्रप्रसाद न्यौपाने, कार्यपालिका सदस्य सेतीमाया तामाङले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने इन्सेकका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले कार्यक्रमको औचित्यबारे प्रष्ट्याउनु भएको थियो ।

लोकप्रिय

Related Articles