राक्सिराङ–चैत १४ गते । ३० बर्षीया बिष्णुमायाँ चेपाङकी कान्छी छोरीलाई केही दिनदेखि निरन्तर पखाला लागेको थियो ।
दुईदिन अघि त निको भएको थियो, तर सोमबारबाट फेरि चाप्यो । अस्पताल लैजाने पैसा थिएन । के गरौँ, कसो गरौँ हुँदै थियो । नजिकैको काँकडा स्वास्थ्य चौकीमा निःशुल्क औषधी पाइने सुन्नु भएकी बिष्णुमायालाई गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर निकै फलदायी साबित भयो ।

राक्सिराङ गाउँपालिकाले वडा नं ७ को जुरेथुमस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा आयोजना गरिएको एकीकृत शिविरमा पुग्नु चिकित्सकसहितको उपचार सेवा उहाँकी कान्छी छोरीले पाउनुभयो ।
बिष्णुमायाँकी १ बर्षकी कान्छी छोरीले झाडापखालाको उपचार पाएको कुरा मात्रै होइन, शिविरमा सहभागी हुनु भएकी धनमाया घलानको पनि चित्त बुझ्यो ।
ज्यान दुख्ने, कमजोरी हुने समस्या बोकेर शिविरमा आउनु भएकी घलानले पशुचौपायाको औषधी र बिऊ बिजन समेत प्राप्त गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।

गाउँपालिकाले स्वास्थ्य शिविर, घटना दर्ता, गरिव परिचय पत्र, पोषण प्याकेट, बीऊ बिजनसहित अन्य प्रशासनिक कामहरु समेत सम्बन्धित फिल्डमै पुगेर सम्पादन गर्ने भनेर शिविर आयोजना गरेको हो ।
तेस्रो सृंखला चल्दै गर्दा गाउँपालिका एकीकृत शिविरबाट निकै सन्तुष्ट छ । पालिकामा सम्झौता भई कार्यान्वयन भएका योजनाहरुको सम्बन्धित स्थानमै पुगेर मूल्यांकन गरी भुक्तानी गर्नु, दीर्घरोगीहरुको ओछ्यानमै पुगेर स्वास्थ्य जाँच गरी औषधीहरु दिनु वा रिफरको व्यवस्था गर्नु र खरको छानालाई बिस्थापित गरी घरघरै जस्तापाताहरु बितरण गर्नुजस्ता क्रियाकलापले गाउँपालिकासँग सेवाग्राही राक्सिराङबासी पनि खुसी देखिनुहुनुहुन्छ ।

ज्वरो आउने, टाउको दुख्ने समस्याबाट ग्रसित बन्दै आइरहनु भएकी स्थानीय बुद्धिमाया चेपाङले भन्नुभयो–‘शिविरबाट औषधी पाएँ, अब ठीक हुन्छु होला ।’
कार्यपालिकाको निर्णय अनुसार साबिक राक्सिराङ, खैराङ, काँकडा र सरिखेत गाउँ विकास समितका क्षेत्रहरुलाई लक्षि गरी गाउँपालिकाले यस्तो अभियान चलाएको हो । यसअघि वडा नं ४ को राक्सिराङ, वडा नं ९ को खैराङमा समेत एकीकृत शिविर सम्पन्न भइसकेको छ ।
अब सरिखेत गाविसतर्फका भूगोल समेटिने गरी चैत २२ गते वडा नं २ शिविर आयोजना गरिनेछ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले पालिकाको केन्द्रबाट प्रबाह हुने सेवालाई जनस्तरसम्म लगिएको बताउनुभयो ।
उहाँले कुनै नयाँ काम गरिएको नभई पालिकाबाट हुँदै आएका सेवालाई जनताको घरआँगन नजिकै लगिएको बताउनुभयो । ‘त्यही सेवालाई वडातहमा व्यवस्थित बनाएका हौँ, समय र जनशक्तिको सहज व्यवस्थापनमा मात्रै ध्यान दिएका हौँ ।’, उहाँले भन्नुभयो ।
पालिका उपाध्यक्ष बनस्तम थिङले संघीयता आइसकेपछि जनतालाई सेवा सु्विधा घरघरै आइपुग्छ भनेर बिगतमा राजनीतिक पार्टीहरुले समेत भन्ने गरेका भएपनि राक्सिराङ गाउँपालिकाले कार्यान्वयन गरेर देखाएको बताउनुभयो ।
‘वडा वडामा रहेका भुइँमान्छेका बीचमा हामीले हाम्रो सेवालाई लैजान सकेनौँ भने जनताले हामीप्रतिको विश्वास टुटाउनेछन्’, उपाध्यक्ष थिङले भन्नुभयो–‘राक्सिराङका जनताले पाउने सेवा सुविधालाई भूगोलको कठिन अबस्थालाई मध्यनजर राखी घरघरै पु¥याउने प्रयास गरेका हौँ ।’
निरन्तर तेस्रो सृंखलाको शिविरबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको र जनताको तर्फबाट पनि धन्यवाद प्राप्त गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ ।
‘संघीयताको बिरोध गर्नेहरुलाई संघीयतामा जनतामाझ सरकार कसरी पुग्छ भन्ने सानो नमूना पेस गरेका मात्र हौँ’, अध्यक्ष मल्लले भन्नुभयो–‘संघीयताको बिरोध गर्नेहरुका लागि राक्सिराङ गाउँपालिकाले प्रबाह गरिरहेको यस्तो सेवा हेर्न आउन म अनुरोध गर्दछु ।’
राक्सिराङमा जन्मेर हुर्केको मान्छेले राक्सिराङ विकास, समृद्धि, भाग्य र भविष्यबारे नीति निर्माण गर्ने तहमा नेतृत्व गर्न पाउने कुरालाई किन विरोध गरिँदैछ भन्दै अध्यक्ष मल्लले भन्नुभयो–‘संघीयतामा जनमुखी शासक हुनुपर्छ, जनताले उचित सेवा सुविधा सकेसम्म कम खर्च र दुःखमा पाउनुपर्छ भन्ने मान्यतालाई हामी स्थापित गर्न चाहन्छौँ ।’
संघीयताको बिकल्प नै संघीयता हो भन्दै मल्लले भन्नुभयो–‘आगामी आर्थिक बर्षमा हरेक ९ वटै वडामा यस्तो प्रकारका सेवाहरु घरआँगनै पुग्नेछन्, बिचौलिया र दलालहरुलाई निषेध गरिँदै लगिनेछ ।’