राक्सिराङ–फागुन १३ गते । राक्सिराङ गाउँपालिकाका अस्थायी करार शिक्षहरुले शुक्रबार गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
ध्यानाकर्षणपात्र बुझाउँदै ४ बुँदे माग समेत प्रस्तुत गरेका छन् । साथै करार शिक्षकहरुले आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराइएको मागहरु पूरा नभए कडा आन्दोलनमा जाने अस्थायी (करार) शिक्षक संघर्ष समिति राक्सिराङ गाउँपालिकाका अध्यक्ष शिवराज गिरीले बताउनुभयो ।
अस्थायी शिक्षकहरुले २०७२ साल असोज २ गतेपछि नियुक्त भएका अस्थायी (करार) शिक्षकलाई एकपटक संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षाको व्यवस्था गर्नुपर्ने, खुला विज्ञापनमा उमेर हद लगाउन नहुने, रोजगारीबाट विस्थापित गर्न नहुने र एकपटक पनि आन्तरिक परीक्षाको अवसर बिना विस्थापित गरिएका शिक्षकहरुलाई पुनः स्थापित गरी आन्तरिक परीक्षाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
नेपाल सरकारले अस्थायी शिक्षकको व्यवस्थापन गर्ने क्रममा २०७२ साल असोज २ गतेसम्म नियुक्त अस्थायी करार शिक्षकलाई शतप्रतिशत, आन्तरिक तथा गोल्डेन ह्याण्ड चेकको दोहोरो सुविधा प्रदान गरेको तर सो मितिपछि नियुक्त शिक्षकलाई कुनैपनि सुविधा नदिई विस्थापित गराउन खोजिएको गिरीले बताउनुभयो ।