कैलाश–फागुन ११ गते । कैलाश गाउँपालिकाले आँखा उपचारको लागि ग्रामीण आँखा केन्द्र स्थापना गर्ने भएकोछ । गाउँपालिकामा आँखा केन्द्र स्थापनका लागि तिलगंगा आँखा प्रतिष्ठान र कैलाश गाउँपालिका बिच कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
कैलाश गाउँपालिकाले आवश्यक जनशक्ति ब्यबस्थापन गर्ने र तिलगंगा आँखा प्रतिष्ठानको उपकरण सहयोग गर्ने गरि सम्झौता भएको हो ।
गाउँपालिका केन्द्र कालिटार स्वास्थ्य कार्यालय नजिकै रहने गरी आँखा केन्द्र स्थापना गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष लोक मुक्तानले गाउँपालिका भित्रै आँखा उपचारको ब्यबस्था भएपछी लामो दुरिको बाटो धाएर उपचार गर्न जानुपर्ने बाध्यात्मक अवस्थाबाट छुटकारा पाउने बिश्वास ब्यक्त गर्नुभयो ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कैलाश गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष मुक्तान, तिलगंगा आँखा प्रतिष्ठान हेटौडाका ब्यबस्थापन डा. शुधिर श्रेष्ठ, सुशील सिह र काठमाण्डौ अन गोईङका प्रोजेक्ट अफिसर महेश पराजुलीको उपस्थिति रहेको थियो ।