Sunday, October 13, 2024

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

ताजा / भरखरै प्राप्त

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ ।

अझै पनि कतिपय चेपाङ समुदायमा ढिके नुन नै प्रयोग गर्दै आइरहेको भन्दै आयोडिनयुक्त नुनको प्रयोगलाई बढाउन आयोडिन महिना मनाइने गाउँपालिकाले जनाएको छ ।

अन्तरष्ट्रिय स्तरमा फेब्रुअरी महिनालाई आयोडिन महिनाकोरुपमा मनाउने गरिन्छ । सोही अभियान स्वरुप राक्सिराङ गाउँपालिकाले पशु चौपायालाई समेत आयोडिनयुक्त नुन खुवाउनुपर्ने भन्दै जनचेतना प्रदान गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित प्रजा प्रगती आधारभूत बिद्यालयमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थींहरुलाई आयोडिनको महत्वबारे जानकारी गराइएको राक्सिराङ आधारभूत विद्यालयका सिनियर अहेव यम प्रसाद गौतमले बताउनुभयो ।

ठुला कक्षामा अध्ययनरत विद्यार्थीलाई सिकाएमा उनिहरुले साना भाइबहिनिलाई पनि सिकाउने र घरमा पनि सिकाउन सक्ने हुँदा उनिहरुलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।

साथै उक्त विद्यालयमा अध्ययनरत ४६ जना विद्यार्थीलाई १ किलोको १–१ पाकेट नुन वितरण गरिएको उहाँले बताउनुभयो । पशु चौपायालाई ढिके नुन खुवाउँदा त्यसबाट उत्पादन हुने दुध, मासुजन्य उत्पदनमा समेत आयोडिनको कमि हुने भन्दै पशुचौपायालाई पनि आयोडिनयुक्त नुन नै खुवाउनुपर्ने उहाँले बताउनुभयो ।

सोही कार्यक्रम अन्तर्गत माघ २३ गते आमा समूह र स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि आयोडिन सम्बन्धी प्रशिक्षण गरिने गौतमले बताउनुभयो ।

लोकप्रिय

Related Articles