मनहरी–पुस ९ गते । मनहरीमा शाखा स्थापना भई ४ बर्षदेखि सेवा दिइरहेको दिब्य तारा बहुद्देश्यीय सहकारी संस्थाको मुनाफा ३१ लाख नाघेको छ ।
सहकारीको २३ औँ बार्षिक साधारण सभा अन्तर्गत मनहरी सदस्य सेवा केन्द्रको साधारण सभामा यस्तो जानकारी गराइएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको सहकारीको मनहरी सेवा केन्द्र अन्तर्गत कूल ६०३ जना शेयर सदस्य रहेको सेवा केन्द्रका संयोजक प्रकाश बर्ताैलाले जानकारी दिनुभयो ।
मनहरी सेवा केन्द्र अन्तर्गत गत आर्थिक बर्ष २०७८/०७९ मा ३१ लाख ४१ हजार ७ सय रुपियाँ कूल मुनाफा कमाउन सहकारी सफल भएको उहाँले बताउनुभयो ।
साधारण सभामा प्रमुख अतिथिको तर्फबाट मन्तब्य ब्यक्त गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीको माध्यमबाट गरिवी निबारणका लागि महत्वपूर्ण योगदान भइरहेको भन्दै गाउँपालिकाका सहकारीहरुप्रति आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रगति प्रतिवेदन सेवा केन्द्रका संयोजक प्रकाश बर्ताैलाले प्रस्तुत गर्नु भएको थियो भने मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव पदमबहादुर तितुङ, सभापति नारायण सुवेदी, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, सहकारीका केन्द्रीय कोषाध्यक्ष ज्ञानेन्द्र बर्ताैला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सेवा केन्द्रबाट प्रबाह गरिएका सेवा अन्तर्गत उत्कृष्ट बचतकर्ता, असल ऋणी लगायतलाई समेत सम्मान गरिएको थियो ।