मनहरी–पुस ६ गते । मनहरी गाउँपालिका ८ स्थित मनहरी बहुमुखी क्याम्पसको क्याम्पस सभा आगामी पुस २३ गते हुने भएको छ ।
बुधवार बसेको क्याम्पस सञ्चालक समिति बैठकले पुस २३ गते सभा गर्ने निर्णय गरेको समितिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
‘कोरोना, निर्वाचन लगायत कारण बिगतमा रोकिएको क्याम्पस सभालाई पुस २३ गते गर्नेगरी निर्णय गरेका छौँ’, अध्यक्ष उप्रेतीले भन्नुभयो ।
व्यवस्थापनमा कमजोरी भएपछि बिगत २ महिनादेखि क्याम्पसको पठनपाठन ठप्प भएपछि सरोकारवालाहरुसहित क्याम्पस सञ्चालक समितिको बैठक बुधबार बसेको हो ।
बैठकमा निवर्तमान सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाअध्यक्षहरु, क्याम्पस सञ्चालक समितिका सदस्यहरु, पूर्वअध्यक्षहरु तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
बैठकमा सरोकारवालाहरुले तत्कालै क्याम्पस सभा बोलाइनुपर्ने, क्याम्पसको दीर्घकालीन आर्थिक स्रोतको व्यवस्थापन गरिनुपर्ने, क्याम्पसलाई राजनीतिबाट मुक्त गरिनुपर्ने लगायतका सुझावहरु दिएका थिए । आर्थिक स्रोत व्यवस्थापनका सन्दर्भमा गाउँपालिकाको मात्रै भर नपरी दीर्घकालीन सोच बनाएर बार्षिक योजना निर्माण हुनुपर्नेमा सरोकारवालाहरुले नेतृत्वका ध्यानाकर्षण गराएका थिए ।
यसरी सुझाव दिनेहरुमा निर्मल बहुमुखी क्याम्पस बस्तीपुरका सञ्चालक सदस्य सागर उप्रेती, सञ्चारकर्मी शिवकुमार काशी, साना किसान कृषि सहकारी संस्था मनहरीका व्यवस्थापक ज्योति सुवेदी, क्याम्पसका पूर्व अध्यक्ष रामहरि सुवेदी, ६ नं वडाका वडाध्यक्ष युवराज थपलिया, विद्यार्थी नेता राजेन्द्र मुक्तान, ७ नं वडा सदस्य एबम् क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष नवराज सुवेदी, स्थानीय हरि कालाखेती, क्याम्पस सञ्चालक सदस्यहरु प्रल्हाद लम्साल र हेमलाल उप्रेती लगायत रहनु भएको थियो ।
गाउँपालिकाको अधिकार क्षेत्र नभए पनि गाउँपालिकाभित्रको एक मात्र बहुमुखी क्याम्पसलाई सहज ढंगले सञ्चालन गर्न पूर्ण रुपमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।
त्यसैगरी प्रादेशिक तहमा समेत क्याम्पसको उन्नयनका लागि भूमिका खेलिने निवर्तमान सांसद एबम् माओवादी केन्द्रका नेता ओमबहादुरु ग्लानले बताउनुभएको थियो ।