मनहरी–माघ १८ गते । आगामी फागुन २१ गते हुन लागेको संसदीय निर्वाचनमा गाउँ गाउँमा चुनावी चहल पहल सुरु भएको छ ।
इतिहाँसमा राजनीतिक योगदान गरेका नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसहित आफूलाई नयाँशक्ति भनेर चिनाइरहेका दलहरु यतिखेर गाउँगाउँमा पुगेका छन् ।
अझ भनौं, कहिल्यै गाउँ नपुगेकाहरु गाउँ पुगेर मतदातालाई फकाउन थालेका छन् भने राजनीतिबाट टाढा भनिएकाहरुलाई सबैभन्दा बढी राजनीति लाग्ने गरेको देखिएको छ ।
यसै सन्दर्भमा नेपाली काँग्रेसले पनि मकवानपुर क्षेत्र नं २ मा चुनावी अभियान सुरु गरेको छ । मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरको सभा हलमा भब्य कार्यकर्ता भेला आयोजना गरी अभियान सुरु गरिएको नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले बताउनुभयो ।
जिल्लामा नेपाली काँग्रेसमा घात अन्तर्घातको सृंखला चलाइएको आरोप आइरहँदा यसपटक भने बिशेष महाधिवेसनको म्यान्डेट बमोजिम काँग्रेस एकजुट भएर मतदातामाझ पुगिरहेको बर्ताैलाले बताउनुभयो ।
चुनावी अभियान सुरुवाती कार्यक्रममा कार्यब्यस्तताले गर्दा काँग्रेस बागमती प्रदेश सभापति एबम् मुख्यमन्त्री इन्द्रबहादुर बानिया उपस्थित हुनु भएन ।
तर, निवर्तमान सह महामन्त्री तथा मकवानपुर क्षेत्र नं १ का उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना), जिल्ला सभापति तथा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार बुद्ध लामासहित नेताहरु कार्यक्रममा सहभागी भएर काँग्रेसले निर्वाचनमा परिणाम हासिल गर्नेगरी तयारी गरेको र सोही बमोजिम जनतामाझ पुग्न आग्रह गर्नु भएको थियो ।
‘हाम्रो प्रतिस्पर्धा मुख्यतः यस क्षेत्रका निवर्तमान सांसद महेशकुमार बर्ताैलासँग हो’, सभापति बर्ताैलाले भन्नुभयो–‘लोकतन्त्र जोगाउनका लागि दुबै पार्टीबीचको सहकार्य र मैत्रीपूर्ण प्रतिस्पर्धामा हामी उभिएका छौं ।’
मकवानपुर क्षेत्र नं २ बाट अन्य पार्टीका उम्मेदवारहरु पनि मैदानमा भएतापति नेकपा एमालेसँग काँग्रेसको प्रमुख रुपमा प्रतिस्पर्धा हुने बर्ताैलाको दाबी छ । अब गाउँ र टोल तहमा मसिनो रुपमा चुनावी अभियान अघि बढ्ने उहाँले बताउनुभयो ।

