Thursday, June 12, 2025

मनहरी खेलकुद तथा व्यापार महोत्सवः दुर्गेशले बनाए हेरेको हेर्‍यै

ताजा / भरखरै प्राप्त

मनहरी–चैत २ गते । फागुन २१ गतेदेखि मनहरी गाउँपालिका ८ स्थित बेलुवा खेलमैदानमा भइरहेको मनहरी खेलकुद तथा व्यापार महोत्सव २०८१ को १३ औँ दिन शनिबार सबैभन्दा बढी दर्शक ओइरिएका छन् ।

अहिलेका किशोरकिशोरी र युवाहरुमाझ चर्चित कलाकार दुर्गेश थापाको प्रस्तुतिका कारण महोत्सवस्थलमा दर्शकको ओइरो लागेको हो ।

शनिबारमात्रै १० हजार भन्दा बढीले महोत्सवको अवलोकन गरेको अनुमान गरिएको छ । शनिबार दिउँसैबाट महोत्सव स्थलमा थामिनसक्नुको भिड थियो भने साँझ ८ बजेसम्म सयौँ मानिसहरु दुर्गेशसँगै नाच्ने गर गाउने गरिरहेका देखिन्थे ।

आयोजकलाई दुर्गेश स्टेज चढेपछि अतिथिहरु तथा कलाकारहरुको व्यवस्थापन र सुरक्षामा समेत समस्या परेको थियो ।

शनिबार भएको र महोत्सव पनि अन्तिम अन्तिम चरणमा पुगेकाले दर्शकहरु बढेको अनुमान गर्न सकिन्छ । स्टेज घेरिएको तारबार तोडेरै दर्शकहरु स्टेज छेउ र स्टेजमै पुगेका थिए ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरसहित अधिकाँश वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा दुर्गेश थापासँगै आएका एउटा हात नभएका कलाकार सागर उप्रेतीले पनि गीत गाउनु भएको थियो । दुर्गेशकै सिफारिसमा उनलाई गायक बनाउने र पैसा संकलन गरेर हात प्रत्यारोपण गर्ने उद्देश्यले उप्रेतीलाई गीत प्रस्तुत गर्न लगाइएको थियो।

मञ्चमा चढ्ने बित्तिकै बिना औपचारिकता निरन्तर गीत गाउन थालेका दुर्गेशले ‘बम बम बम भोले भोलः गाँजा खायो कोले’ गीत गाएका थिए । केही हप्ताअघि मात्रै शिवरात्रीका अबसर पारेर यो गीत रिलिज भएको थियो ।

त्यसपछि ‘तिजको बेलैमा’, ‘दुश्मन हेरेको हे¥यै’, ‘डन आयो डन’, ‘कि दुर्गेश जेलमा कि दुर्गेश रेलमा’ बोलको गीतमा दुर्गेशले निरन्तर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल भए ।

राति अबेरसम्म मकवानपुरको हेटौँडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, चितवनको राप्ती नगरपालिकाका विभिन्न स्थाहरुबाट आएका दुर्गेशका फ्यानहरु भेट्न र फोटो खिच्न पर्खिरहेका देखिन्थे ।

दुर्गेशसँगै शनिबार गायिका सहिमा श्रेष्ठ, नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, धिरेन लोप्चन, बालिका तामाङ, पवनकुमार चेपाङ लगायतले गीत प्रस्तुत गरेका थिए ।

आइतबार रमेशराज भट्टराई र चेतन सापकोटासहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक मनहरी गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

महोत्सव फागुन ४ गते समापन हुनेछ । महोत्सवसँगै फुटवल, भलिवल, क्रिकेट, दौड, ब्याटमिन्टन लगायत खेलकुदका प्रतियोगिताहरु विभिन्न स्थानहरुमा भएका छन् । जस अनुसार आइतबार बिहान ब्याड मिन्टन खेल हुनेछ ।

थप तस्वीरहरुः

लोकप्रिय

Related Articles