मनहरी–जेठ ३ गते । पश्चिम मकवानपुरकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने राष्ट्रिय रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएसँगै नियमित कार्य सुचारु भएको छ ।
अभिभावक भेलाबाट चुनिएका ४ जना महिला सदस्यहरु माया विश्वकर्मा, रन्जु परियार, सीता ब्लोन र सावित्री मुक्तान रहेकामा विधान बमोजिम मनहरी गाउँपालिका ७ नं वडा कार्यालयको तर्फबाट वडा सदस्य नवराज सुवेदी र शिक्षक प्रतिनिधिको रुपमा मनोजकुमार मुक्तान थपिनु भएको हो ।
उनीहरुमध्येबाट वडाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने नवराज सुवेदीलाई अध्यक्षमा निर्विरोध रुपमा चयन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विधान बमोजिम प्रधानाध्यापक समितिको पदेन सदस्य रहने व्यवस्था छ । सरकारले हालै जारी गरेको अध्यादेशमार्फत शिक्षासेवी, चन्दादाता र सहयोगी गरी ३ जनालाई मनोनीत गर्न पाउने प्रावधान हटाएको छ ।
नयाँ समिति बनेपछि शिक्षा क्षेत्रको विकासका लागि अनुभवी र नयाँ पुस्ताका सहकर्मीहरुसँग समन्वय गरेर अघि बढिने अध्यक्ष सुवेदीले प्रतिवद्धता जनाउनु भएको छ ।

