मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिकाले नयाँ आर्थिक बर्षमा नयाँ भवन पाउने पक्का भएको छ । मनहरी गाउँपालिका वडा नं ९ स्थित रजैयाको वन क्षेत्रमा नयाँ भवन निर्माणाधीन छ ।
कुनै अबरोध र असामान्य परिस्थिति नआएमा आगामी नयाँ आर्थिक बर्ष २०८३/०८४ मा पालिकाको सबै कार्य नयाँ भवनबाट सम्पादन हुने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताउनुभयो ।
गाउँपालिकाले मन्त्रीपरिषदबाट पारित गरी हरियाली सामुदायिक वन क्षेत्रमा पर्ने जग्गा प्राप्त गरी भवन निर्माणको अनुमति पाएको छ ।
अघिल्लो स्थानीय तहको नेतृत्वमा नै उक्त भवन निर्माणका लागि डिपिआर निर्माण गर्ने र जग्गा प्राप्ति गर्ने प्रक्रिया अघि बढेको थियो ।
तर, २०७९ मा स्थानीय सरकारमा नयाँ नेतृत्व प्राप्त भएसँगै संघीय सरकारमा समेत दबाब सिर्जना गरी जग्गा प्राप्ति प्रक्रिया पूरा भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।
‘जग्गा प्राप्तिका लागि निकै संघर्ष ग¥यौँ, जग्गा पाउनासाथ व्यवस्थित भवन निर्माणको कामलाई द्रुतगतिमा अघि बढायौं’, अध्यक्ष कालाखेतीले भन्नुभयो ।
उहाँका अनुसार तामाकोशी ढाचा जेभीले भवन निर्माणको काम गरिरहेको छ । तीन तलाको भवनमा सभाहलसहित साना अन्य हलहरु समेत निर्माण गरिएका छन् ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको जंगल क्षेत्रमा भवन निर्माण भइरहेको हो । भवन निर्माणका लागि निर्माण कम्पनीले ८ करोड २८ लाखमा ठेक्का सकार गरी सम्झौता गरेको हो ।
गत चैत महिनामा निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले म्याद थप गरी असार मसान्तसम्म समय अबधि थप गरेको थियो । सोही बमोजिम आगामी असारको तेस्रो सातासम्म भवन सम्पन्न गरी हस्तान्तरण हुने गरी काम अघि बढेको गाउँपालिकाका प्राविधिक प्रमुख टुकराज चौधरीले बताउनुभयो ।
हाल गाउँपालिकाले मनहरी गाउँपालिका ९ स्थित एक व्यक्तिको घर भाडामा लिएर २०७४ सालदेखि कार्यालय सञ्चालन गरिरहेको छ । त्यसैगरी वडा नं ३ मा गाउँपालिकाको लगानीमा बनेको सभाहल, समावेशी भवन र सेफ हाउसलाई समेत कार्यालय र आवास मानेर कार्य सम्पादन हुँदै आइरहेको छ ।
भवन निर्माण भएर एकै ठाउँबाट सेवा प्रबाह हुने बित्तिकै सेवाग्राहीहरुले अहिलेको जस्तो दोहोरो कार्यालयमा धाउनुपर्ने समस्याबाट मुक्ति पाउने प्रशासन शाखा प्रमुख अन्जना सुवेदीले बताउनुभयो ।
तत्कालीन मनहरी गाउँ विकास समिति र हाँडीखोला गाउँ विकास समिति मिलेर बनेको मनहरी गाउँपालिकाको केन्द्र वडा नं ९ मा राख्ने र नाम मनहरी राख्ने तत्कालीन सरोकारवालासँग सहमति जुटेसँगै गाउँसभाको पहिलो पालिकाको प्रशासनिक भवन वडा नं ९ मा राख्ने निर्णय २०७४ मा गरेको थियो ।

