मनहरी–जेठ ९ गते । गत बर्षको भदौ २४ गते जेन्जी आन्दोलनका नाममा आगजनी गरिएपछि मनहरी गाउँपालिकाको औषधी भण्डारका २ सय २२ थरिका औषधी काम नलाग्ने भएका छन् । उच्च तापक्रमका कारण औषधी खानयोग्य नहुने भएकाले मनहरी गाउँपालिकाले नष्ट गर्न सुरु गरेको छ ।
मनहरी गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुनसार औषधी भण्डारमा आगजनी भएपनि कतिपय औषधीहरु जलेका भने थिएनन् । औषधीहरु नजले पनि उच्च तापमा परेकाले प्रयोग गर्न उपयुक्त नहुने विज्ञहरुको भनाइ छ । त्यसैले आगजनीमा परेका औषधीलाई व्यवस्थित ढंगले नष्ट गर्न थालिएको शाखा संयोजक रामचन्द्र दाहालले बताउनुभयो ।
उहाँका अनुसार २ सय २२ थरिका औषधीहरु नष्ट गरिएको छ । गाउँपालिकाले नगरप्रहरी प्रयोग गरेर हरेक ट्याब्लेटलाई खोलबाट निकाली जमिनमा गाडेको हो । तरल प्रकृतिका औषधीहरुका बोत्तल फुटाएर एकै भाँडोमा संकलन गरी नष्ट गर्न थालिएको संयोजक दाहालले बताउनुभयो ।
उहाँका अनुसार नष्ट गरिने सबै औषधीको मूल्य ३३ लाख रुपियाँभन्दा बढी रहेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, प्रमुख प्रशासीय अधिकृत रमेश सुवेदी, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सरोकारवाला लगायतको उपस्थिति रोहबरमा औषधी नष्ट गर्ने कार्य गरिएको हो ।
२०८२ साल भदौ २४ गते देशभर भएको आन्दोलनका क्रममा मनहरी गाउँपालिकाको अध्यक्षको कक्ष, जिन्सी शाखासहित, लामिटारमा रहेको स्वास्थ्य, सामाजिक, पशु, शिक्षा लगायत शाखाहरुमा क्षति पुगेको थियो भने सभाहल समेत जलाइएको थियो ।

