राक्सिराङ–मंसीर ९ गते । मकवानपुरको दुर्गम क्षेत्रमा अबस्थित राक्सिराङ गाउँपालिकाबाट छापामाध्यम प्रकाशन सुरु भएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ३ मा मुख्य कार्यालय स्थापना गरेर राक्सिराङ नाम गरेको साप्ताहिक पत्रिका आरम्भ भएको हो ।
पत्रिकाका सम्पादक तथा प्रकाशकका रुपमा युवा पत्रकार ज्ञानेन्द्र तामाङ रहनु भएको छ । लामो समय रेडियो, अनलाइन मिडिया र भिडियोमा काम गर्नु भएका तामाङको छापा माध्यममा पहिलो पाइला हो ।
उहाँले राक्सिराङका बासिन्दाहरुका आवाजलाई मिडियामार्फत बुलन्द बनाउनका लागि छापामाध्यममार्फत शसक्त भूमिका खेल्नका लागि राक्सिराङ साप्ताहिक पत्रिका आरम्भ भएको बताउनुभयो ।
दुर्गम भनेर परिचय कमाएको राक्सिराङमा पनि छापामाध्यम सञ्चालन गर्न सक्षम मिडियाकर्मीहरु छन् भनेर परिचय दिने र त्यस भेगका सकारात्मक र सुधार गर्नुपर्ने कुराहरुलाई मिडियामा ल्याउने प्रयत्न आफूले सदैव जारी राख्ने पत्रकार तामाङले बताउनुभयो ।
राक्सिराङ साप्ताहिकको अनलाइन संस्करणमा पनि प्रकाशन हुने र अनलाइन केहि दिनमै सार्वजनिक गरिने उहाँले बताउनुभयो ।