Sunday, October 13, 2024

राक्सिराङका हेडसर मनहरीमा कुटिए, शिक्षकका संगठनहरुद्वारा कडा बिरोध

ताजा / भरखरै प्राप्त

राक्सिराङ–भदौ २२ गते । राक्सिराङ गाउँपालिका वडा नं ८ मा रहेको श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलकबहादुर विकमाथि कुटपिट भएको छ ।

मनहरी गाउँपालिका वडा नं ७ विजौना कत्लेखोल्सा नजिकै उहाँमाथि भदौ २१ गते साँझ कुटपिट भएको हो । राक्सिराङ गाउँपालिका वडा नं ८ दम्सिदी बस्ने ३२ बर्षका साजन पाख्रीनले प्रधानाध्यापक बिकलाई कुटपिट गरेका हुन् ।

मोटरसाइकलमा आएका पाख्रीनले बिकलाई अकस्मात हेलमेटले प्रहार गरी मोटरसाइकल नै छाडेर भागेको बताइएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय राक्सिराङ ५ चैनपुरबाट कार्यालयको काम सकेर फर्कने क्रममा रहेका विकलाई पाख्रीनले आक्रमण गरी घाइते बनाएका हुन् ।

यसैबीच विकमाथि भएको आक्रमणको राक्सिराङ गाउँपालिकामा क्रियाशील सबै शिक्षक संगठनहरुले संयुक्त विज्ञप्ती प्रकाशन गरी भत्र्सना गरेका छन् ।

उनीहरुले शिक्षणजस्तो पवित्र पेशामा अहोरात्र खटिएका शिक्षकहरुको सुरक्षा र सम्मान सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष मिथुन रुम्बा, नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष सुरेन्द्र लामा र नेपाल शिक्षक संघ अध्यक्ष बाबुलाल घलानले विज्ञप्ती प्रकाशन गरी विकमाथि भएको आक्रमणको घटनाले शैक्षिक प्रणाली र शैक्षिक संस्थामाथि चुनौति थपिएको उल्लेख छ ।

‘दोषीलाई कानूनी कारबाही नभएमा शिक्षक महासंघ तथा पेशागत घटक संघ संगठनहरु जुनसुकै अबस्थामा न्यायका लागि उत्रने कुरा अबगत गराउँदै यो संयुक्त विज्ञप्ती जारी गर्दछौं’, उनीहरुले निकालेको विज्ञप्तीमा लेखिएको छ ।

घटनापछि भदौ २२ गते प्रधानाध्यापक विकले इलाका प्रहरी कार्यालय मनहरीमा दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै निवेदन दर्ता गराउनु भएको नेपाल शिक्षक महासंघ राक्सिराङका अध्यक्ष मिथुन रुम्बाले जानकारी दिनुभयो ।

लोकप्रिय

Related Articles