मनहरी–असार १४ गते । मनहरी गाउँपालिका वडा नं ६ मा स्थानीय सरकारले सम्पादन गरेका काम कारबाहीका सम्बन्धमा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा स्थानीय सरकारका सामु थुप्रै प्रश्नहरु स्थानीयबासिन्दाले तेस्र्याएका थिए । लोथर निबासी सामाजिक व्यक्तित्व खुलबहादुर नगरकोटीले स्थानीय सरकारलाई सम्बोधन गर्दै निकुन्जको मध्यवर्ती क्षेत्रमा विकास निर्माण कार्यमा अबरोध हुनुका साथ जग्गा नापी, लालपुर्जा बितरण लगायत कार्यमा ढिलाई भइरहेको स्मरण गराउनु भयो ।
‘तपाईहरु निकुन्जका सिपाहीहरुसँग डराउनु भएको कि के हो’, नगरकोटीले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीतिर इंगित गर्दै भन्नुभयो–‘पेलेरै अघि बढ्नोसु, लालपुर्जा दिलाउने काममा बिलम्ब नगर्नुहोस् ।’
२०५६ सालमा आफू सुकुम्बासी समस्या समाधान आयोगको सदस्य हुँदा नै जग्गा नापी गरी लालपुर्जा बनाइएको उल्लेख गर्दै उहाँले बनिसकेको लालपुर्जा ल्याएर बाँड्ने आँट स्थानीय सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी स्थानीय युवा तुलाराज स्याङ्तानले राष्ट्रिय मावि सुनाचुरीको अबस्था बिग्रँदै गएर चितवनको विद्यालयहरुमा सुनाचुरी क्षेत्रका विद्यार्थीहरु जानुपर्ने अबस्था आएको भन्दै शिक्षक नियुक्ति लगायतका बिषयहरुमा आवाज उठाउनु भएको थियो ।
अर्का वक्ता अशोक शाक्यले चुनावमा व्यक्त भएका प्रतिबद्धता पूरा नभएको भन्दै रोष ब्यक्त गर्नु भएको थियो ।
युवा नेता नारायण श्रेष्ठले कृषि विकासका थुप्रै कामहरु गर्नु आवश्यक रहेपनि उचित ढंगले हुन नसकिरहेको गुनासो गर्नु भएको थियो ।
उठेका सबै सबालहरुको कार्यालयका तर्फबाट शिक्षा प्रमुख प्रदीप भट्टराई, कृषि प्रमुख शर्मिला सुवेदी र बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराईले जबाफ दिनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधत गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले लालपुर्जाको बितरण गर्ने बिषय आफ्नो अधिकारक्षेत्रमा नपरे पनि त्यसअघिको सबै कामहरु पालिकाको तर्फबाट भइरहेको बताउनुभयो ।
उहाँले चुनावमा बोलेका कुराहरुलाई बिस्तारै पूरा गर्दै लैजाने क्रममा अघि बढिरहेको र सबै पक्ष मिलेर समुदायको विकासका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमको औचित्य प्रष्ट पार्दै मनहरी गाउँपालिका गाउँपालिका ६ नं वडाका नागरिक र कार्यालयबाट सेवा लिएर फर्केका बहिर्गमित नागरिकसँग लिइएको प्रतिक्रियासहितको सर्वेक्षणको प्रतिवेदन पत्रकार ज्ञानेन्द्र तामाङले प्रस्तुत गर्नु भएको थियो ।
वडाध्यक्ष युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, कृषि शाखा प्रमुख शर्मिला सुवेदी, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाल, शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, पशु शाखा प्रमुख कृष्णप्रसाद भट्टराई, प्राविधिक शाखा प्रमुख टुकराज चौधरी लगायतको सहभागिता रहेको थियोे ।