राक्सिराङ–जेठ २० गते । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिकाको समृद्धिको आधारमध्ये चिउरीको रुख पनि महत्वपूर्ण अंग भएको बताउनु भएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ७ ताकनामा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले अबको अभियान चिउरीको संरक्षण, विकास र बिस्तारमा केन्द्रित रहेको बताउँदै चिउरीको रुख संरक्षण गर्न स्थानीयबासिन्दाको ध्यानाकर्षण गराउनु भयो ।
‘जसरी गैँडा मार्ने कार्यलाई गम्भीर अपराध मानिन्छ, त्यसैगरी चिउरीको रुख काट्ने नष्ट गर्नेलाई पनि सोही बमोजिमका अपराध मान्नेगरी कार्यविधि तयार गरेर चिउरी जोगाउने काम गाउँपालिकाले गर्नेछ’–अध्यक्ष मल्लले भन्नुभयो ।

उहाँले आफू पहिलोपटक ताकनामा आइपुग्ने अबसर पाएको भन्दै यस गाउँको विकासका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउनुभयो ।
‘दुइ पटक अध्यक्षमा निर्वाचित भएँ, चुनावको बेला समेत यो बिकट गाउँमा आउन पाएको थिइनँ’, अध्यक्ष मल्लले भन्नुभयो–‘यहाँको सडक विकास, विद्यालयको स्तरोन्नति लगायतका काममा अब गाउँपालिकाको ध्यान जानेछ ।’
सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानीय चेपाङ अगुवा एबम् टोल विकास संस्थाका सचिव मिलन चेपाङ, मनोज चेपाङ लगायतले बाटोको बिस्तार गरी धिराङ हुँदै गर्लिङ जोड्ने बनाइदिन र चलिरहेको बाल विकास केन्द्रको विकास गरी विद्यालयमा परिणत गर्न माग राखेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले प्रशासनिक बिषयमा आएका समस्याहरुका बारेमा जबाफ दिनु भएको थियो ।
७ वडाध्यक्ष रामबहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा सोही वडा घर भएका बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले आफ्नो गाउँमा जनप्रतिनिधिहरु र पत्रकारहरु पहिलोपटक आइपुगेको भन्दै अब विकास निर्माणले तीब्र रुप लिने बताउनुभयो ।
ग्रेटर ताम्सालिङ मिडिया प्रालिको संयोजनमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अधिकृतहरु गोविन्द अधिकारी, चुननारायण श्रेष्ठ, रोमन पुडासैनी, प्राविधिक आशिष शर्मा, राक्सिराङ सव डिभिजन वन कार्यालयका प्रमुख दिनेश सत्याल, ७ नं वडाका निवर्तमान अध्यक्ष कुलबहादुर प्रजा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जनताको गुनासो, प्रतिक्रिया समेटिएको सर्बेक्षणको नतिजा ग्रेटर ताम्सालिङ मिडिया प्रालिका तर्फबाट सञ्चारकर्मी जयराम मुक्तानले प्रस्तुत गर्नु भएको थियो ।

