मनहरी–जेठ ५ गते । मनहरी बजारसहित विभिन्न वडाका व्यापारिक प्रतिष्ठानहरुमा गैरकानूनी रुपमा बालबालिकालाई श्रममा लगाउनेहरुलाई सात दिन भित्र हाजिरी हुन श्रम कार्यालयले पत्र काटेको छ ।

मनहरी बजारका होटल, किराना पसल, अटो ग्यारेज लगायत व्यापारिक प्रतिष्ठानहरुमा बालबालिकालाई काममा लगाएको पाइएको हो ।
बालमैत्री स्थानीय शासन अवलम्बन भएको पहिलो गाउँपालिकाको रुपमा स्थापित भएको मनहरी गाउँपालिकामा गरिव, बिपन्न, असहाय बालबालिकाहरुलाई अध्ययनका लागि सहजीकरण गर्नुका सट्टा व्यापारीहरुले काममा लगाएर फाइदा लिने गरेको पाइएको हो ।
१६ बर्ष भन्दा कम उमेरका बालबालिकालाई काममा लगाएर व्यापार गर्नेहरुमा मनहरी गाउँपालिका ७ मनहरी बजारस्थित बर्ताैला सप्लायर्स, मनहरी ९ स्थित शाह मोटर वर्कसप, जेके वास सेन्टर, रजैया बाइक वर्कसप रहेका छन् ।
उनीहरुलाई ७ दिनभित्र बालबालिकालाई काममा लगाएकोबारे स्पष्टिकरण पेस गर्नका लागि लिखित पत्र थमाइएको छ । पत्र प्राप्त गरेपछि श्रम तथा रोजगार कार्यालय हेटौँडामा उपस्थित भई उनीहरुले स्पष्टिकरण दिनुपर्नेछ ।
त्यसैगरी मनहरी बजारकै सरस्वती फेन्सी समेत १८ बर्षभन्दा मुनिका बालबालिकालाई कामदारको रुपमा राखेको फेला परेको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले बताउनुभयो ।
विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा अनुगमन गर्दा ४ जना बालक २ जना बालिका फेला श्रमिकका रुपमा फेला परेको सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बताउनुभयो ।
यसपटक मनहरी बजारका होटलहरुमा भने बालश्रमिक फेला परेनन् । यद्यपि, अहिले पनि होटलहरुले राक्सिराङ र कैलाश गाउँपालिकाका पढ्ने उमेरका बालबालिकाहरुलाई ल्याएर काममा लगाउने गरेको आरोप लाग्ने गरेको छ ।
कानूनले १८ बर्षभन्दा मुनिका बालबालिकालाई कामदारका रुपमा राख्न नपाउने व्यवस्था गरेको छ । १६ बर्ष पूरा भएपनि श्रमिकका रुपमा राख्नु परेमा श्रम तथा रोजगार कार्यालयबाट अनुमित लिई श्रम ऐनले तोके अनुसारको तलब दिएर मात्रै काममा लगाउनुपर्ने कानूनी व्यवस्था छ ।
बाल श्रमका बारेमा मनहरी गाउँपालिकाको वडा नं ७, ८ र ९ मा गरिएको अनुगमनमा सिविन बाल हेल्पलाइनका संयोजक ज्ञवाली, श्रम तथा रोजगार कार्यालयका प्रमुख श्रेष्ठ, नायब सुब्बा भीमप्रसाद शर्मा, मनहरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक दिनेश थापा क्षेत्री, कार्यक्रम अधिकृत एवम् मनोविमर्शकर्ता सम्झना अधिकारी, मनहरी गाउँपालिकाका बालअधिकार समितिकी देवकी ढुङ्गाना, बालमैत्री सहजकर्ता सुशिला नेपाली लगायतको टोली सहभागी थिए ।

