मनहरी–फागुन ११ गते । मनहरी गाउँपालिकामा क्रियाशील पाँच राजनीतिक दलले स्थानीय तहबिरुद्ध आन्दोलन सुरु गरेका छन् । उनीहरुले आन्दोलनलाई सुशासनको पक्षमा र ढिलासुस्ती तथा भ्रष्टाचारको विक्षमा सुरु गरिएको बताएका छन् ।
र, आन्दोलनमा स्थानीय सरकारमा सहभागी नेकपा माओवादी केन्द्र पनि सहभागी छ । माओवादी केन्द्रसहित नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, रास्वपा र राप्रपाले संयुक्त रुपमा थालेका आन्दोलन अन्तर्गत शुक्रबार दिउँसो मनहरी गाउँपालिकाका विभिन्न स्थानमा बन्न बाँकी रहेका पक्की पुलको निर्माण स्थलमै पुगेर बिरोध गरिएको हो ।
मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक कोष खर्च गरी निर्माण थालेको पुल समयमै नबनेपछि ठेकेदारहरुका तस्वीर कालो ब्यानरमा उल्लेख गर्दै टाँस गरिएको छ ।
यसरी फोटो टाँसिएका ठेकेदारहरुको सूचिमा नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति तथा मकवानपुर क्षेत्र नं २ को क प्रदेश क्षेत्रका सांसद इन्द्रबहादुर बानियाँ पनि परेका छन् । उहाँ यसै क्षेत्रका प्रदेश सांसद हुनुहुन्छ भने निर्माण व्यवसायीका रुपमा उहाँकै फर्मले मनहरीका पक्की पुल निर्माण गर्ने ठेक्का प्राप्त गरेको थियो ।
बानियाँसँगै अर्का ठेकेदारहरु शिव चौलागाईँ र मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको तस्वीर समेत कालो ब्यानरमा फोटो उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष कालाखेतीलाई भने निजी सवारी साधनमा सरकारी ढुकुटी खर्च गर्न पाइन्छ ? भन्दै प्रश्न गरिएको छ ।
त्यसैगरी ‘मनहरी गाउँपालिकाभित्रको ढुंगा, गिटी बालुवाको राजश्व मिनाहा गर्ने अधिकार कसले दियो ?’, ‘पाडापाडी बितरण कार्यमा भएको भ्रष्टाचारको छानबीन प्रतिवेदन कहिले सार्बजनिक हुन्छ ?’ भन्ने प्रश्नसहित मनहरी अस्पताल निर्माण कार्यमा कमसल निर्माण सामग्रीको प्रयोग गरिएको बिषयलाई कालो ब्यानरमार्फत उजागर गरिएको छ ।
पाँच दलका नेता–कार्यकर्ताले मनहरी गाउँपालिकाका विभिन्न स्थानमा ठेक्का भएका तर निर्माण हुन नसकेका पुलहरुमै पुगेर विरोध सभा गरेका थिए । त्यसपछि मनहरी गाउँपालिकामा समेत आएर पाँच दलका नेता कार्यकर्ताले ब्यानर टाँगेर विरोध सभा गरेका थिए ।
पुल निर्माणमा ढिलाई भएको, अघिल्लो आर्थिक बर्षमा पाडापाडी बितरण कार्यक्रममा भ्रष्टाचार भएको, मनहरी अस्पतालमा कमसल सामग्री प्रयोग भएको, राजश्व मिनाह भएको र गाउँपालिका अध्यक्षले निजी सवारी साधनमा सरकारी खर्च गरेको बिषमा पाँचदलले स्पष्ट पार्न गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरसमक्ष ध्यानाकर्षण पत्र पेस गरेका थिए ।
विरोध कार्यक्रममा नेकपा एमाले मनहरीका अध्यक्ष नवीन सुवेदी, माओवादी केन्द्रका अध्यक्ष रामप्रसाद कालाखेती, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति गोविन्द सापकोटा, राप्रपाका अन्जु कार्की (खुसी) र नेकपा एकीकृत समाजवादीका राजन पाण्डेले नेतृत्व गर्नु भएको थियो ।