Friday, September 13, 2024

रेडक्रस मनहरी उपशाखाको १३ औँ बार्षिक सभा, नयाँ एम्बुलेन्स किन्ने योजना

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन ७ गते । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको १३ औँ बार्षिक साधारण सभा मनहरी ७ स्थित मनहरी सामुदायिक आँखा केन्द्रमा भएको छ । सभाले चालू आर्थिक बर्षभित्रै नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने लक्ष्यका साथ बार्षिक कार्ययोजना पारित गरेको छ ।

सभापति मोहन कार्कीको सभाध्यक्षतामा भएको साधारण सभामा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष कालाखेतीले बिपद् लगायतका अन्य सामाजिक रुपान्तरण र परिचालनको सन्दर्भमा रेडक्रसजस्तो अन्तर्राष्ट्रिय संस्थाले गरिरहेको कामले स्थानीय सरकारलाई ठूलो टेवा पुगिरहेको बताउनुभयो । उहाँले रेडक्रसले बनाएको योजना कार्यान्वयनका लागि स्थानीय सरकार सदैब लागिपरेको समेत बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका सभापति लालबहादुर थापाले रेडक्रस अभियानको ब्राण्ड बचाइराख्न सबैले प्रयत्न गर्नुपर्ने बताउनुभयो । नयाँ विधान अनुसार पालिकास्तरीय उपशाखा निर्माण हुने तयारी रहेको जानकारी गराउँदै उहाँले मनहरी उपशाखाको सक्रियताको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारी, सोसाइटीका जिल्ला कोषाध्यक्ष एबम् मनहरी सहजकर्ता किशोर बर्ताैला, हृदय रोग प्रतिष्ठान मनहरीका अध्यक्ष नारायण सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उपशाखा सहसचिव इश्वर थापाले स्वागत गर्नु भएको कार्यक्रमको संचालनसहित प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत सचिव पुस्कर सुवेदीले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न कार्यक्रमहरुमा सघाउ पु¥याउने संघसंस्था, कम्पनी तथा व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो । आगामी दिनमा रेडक्रसका गतिविधिहरुलाई अझ तीब्र रुपमा लैजानका लागि साधारण सभाले बार्षिक कार्यक्रम तर्जुमा गरेको छ ।

साधारण सभामा ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, ८ नं वडाध्यक्ष नारायण उप्रेती, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका उपमन्त्री शिवहरि दाहाल, उपकोषाध्यक्ष मंगल रखाल, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, मनहरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण भट्ट, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनकुमार जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी सभापति गोविन्द सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

लोकप्रिय

Related Articles