मनहरी–माघ १९ गते । पाँचौ मनहरी महोत्सवमा हाँस्य कलाकार मनोज गजुरेलले शानदार प्रस्तुति दिनु भएको छ । उहाँको एकल प्रस्तुति र उहाँसहित अर्का कलाकार एबम् महोत्सवका व्यवस्थापक रामेश्वर रिजालसँगको संयुक्त प्रस्तुतिमा दर्शकले भरपूर मनोरन्जन लिएका थिए ।
कलाकार गजुरेलले राजनीतिक दल र तिनका नेताहरु ब्यंग्य प्रहार गर्ने क्रममा पार्टीको नाम नतोकीकन ‘मनहरीको माधव नेपाल को हो’ भनी प्रश्न गरेका थिए । त्यस क्रममा कलाकार गजुरेलले माधव नेपालको क्यारिकेचर गर्दै ‘अपमान भयो’ भन्ने बाक्यांश अभिनयात्मक शैलीमा प्रस्तुत गर्नु भएको थियो ।
उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले बोलेको नबुझेको र आफूले भनेको कुरो तुरुन्तै बिर्सने स्वभाव भएको भन्दै ब्यंग्य गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका समेत उहाँले क्यारिकेचर गर्नु भएको थियो ।
प्रस्तुतिको अन्तमा थपिनु भएका अर्का कलाकार रामेश्वर रिजालले आफूलाई प्रचण्डको रुपमा प्रस्तुत गर्दै केही समय गजुरेल र रिजालबीच व्यंग्यात्मक सम्बाद भएको थियो । चौथो दिनको महोत्सवमा तामाङ समुदायमा बहुचर्चित गायक बिशाल कान्तान र चर्चित लोकदोहोरी गायक कृष्ण रेउलेले गायन प्रस्तुन गर्नु भएको थियो ।
नियमित रुपमा आस्था कला केन्द्र मनहरीको प्रस्तुतिमा एकदर्जन बढी नृत्य प्रस्तुत भइरहेको छ भने लाइभ बाजा बजाउनका लागि बाद्यबादकको टोली पनि कार्यक्रममा सहभागी रहेको कलाकार संयोजक बिष्णुराम कालाखेतीले बताउनुभयो ।
स्थानीय रुपमा अनुषा चेपाङ, अमित लोप्चन, प्रमिला मगरले दोहोरी गीत प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी स्थानीय एन्फेरियर ब्याण्डसहित अन्य ब्याण्डहरुले समेत महोत्सवको माहोल तताएको थियो । महोत्सवको माघ १९ गतेको प्रस्तोताका रुपमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले भूमिका निर्बाह गर्नु भएको थियो ।
भोलि माघ २० गते चर्चित लोक गायक पशुपति शर्मा र सम्झना लामिछाने मगरसहित नृत्य क्षेत्रमा चर्चित सरोज प्रजा र बिना राउतको जोडीको प्रस्तुति हुने आयोजकले जनाएको छ ।
माघ १६ गते सुरुवात भएको पाँचौ मनहरी महोत्सव २८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् । स्थानीय माछा, तामा, मास, गहत दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको मम, सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।
साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।