मनहरी–माघ ६ गते । मनहरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष प्रकाश थापाले आफ्नो वडामा बसोबास गर्ने गरिव, विपन्न चेपाङ र वनकरिया समुदायका बासिन्दाका लागि न्यानो कपडाको जोहो गर्नु भएको छ ।
दि डिस्टिलरी प्रालि बालाजुसँग मागेर ल्याइएको १ सय ५५ थान सिरक ४ नं वडाका चेपाङ र बनकरियाका लागि बितरण गरिएको हो । ‘गरिव, विपन्न समुदायमा अहिले पनि सिरकको अभावमा अँगेनामा आगो बालेर सुत्नुपर्ने बाध्यता रहेकाले विभिन्न व्यक्ति, संस्था र कम्पनीहरुसँग सिरक माग गरेको थिएँ’, वडाध्यक्ष थापाले भन्नुभयो–‘दि डिस्टिलरीले मेरो मागलाई स्वीकार गरेर मानवीय सहयोग गरेर पूण्य कमाउने काम ग¥यो ।’
वडाध्यक्ष थापाले मागेर ल्याउनु भएको सिरकहरु एक समारोहका बीच शनिबार हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष थापासहित स्थानीय समाजसेवी बिष्णु चेपाङसहित दि डिस्टिलरी प्रालिका निर्देशक कृष्णकुमार चुडीवाला, सिनियर अफिसर जनक रेग्मी र प्रवन्धक बिजय मल्ल लगायतको सहभागिता रहेको थियो ।
नेपालमै मनहरी ४ मुसेधापमा मात्रै बसोबास रहेको बनकरिया समुदायका लागि लक्षित गरी यसअघि पनि बागमती प्रदेश सरकारको आन्तरिक तथा कानून मन्त्रालयले पनि सिरक बितरण गरेको थियो । सोही अबसरमा डिस्टिलरीका प्रवन्ध निर्देशक चुडीवालाले चेपाङ बालबालिकालाई एकछाक खिचडी खाजा खान भन्दै नगद ५ हजार रुपियाँ समेत सहयोग गर्नु भएको छ । चुडीवालाले स्थानीय समाजसेवी बिष्णु चेपाङमार्फत बालबालिकालाई खाजा स्वरुप खिचडीको व्यवस्थापन गर्न रकम हस्तान्तरण गर्नु भएको थियो ।