मनहरी–मंसीर २८ गते । मनहरी गाउँपालिका वडा नं ७ रमौली र बगर क्षेत्रमा मंसीर २६ गते राति जंगली हात्ती यमगजले उपद्रो मच्चायो ।
केही घरहरु भत्किए, केहीका खाद्यान्नमा क्षति पुग्यो । लगत्तै मंसीर २७ गते बिहान मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, ७ वडाध्यक्ष ठाकुरराम तितुङ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालसहितको टोली घटनास्थल पुगेर क्षति बुझ्ने र पुनः हात्ती आउन सक्ने त्रासलाई मनोवैज्ञानिक रुपमा कम गर्नका लागि स्थानीयहरुसँग छलफलमा जुटे ।
त्यसपछि मकवानपुर क्षेत्र नं २ का सांसद महेश बर्ताैला स्थानीय दलबलसहित घटनास्थल पुगे । हात्तीको समस्या समाधानबारे स्थानीयबासिन्दाका भनाईहरु सुने । अधिकाँश नेकपा एमालेका नेताहरु सहभागी रहेको छलफल कार्यक्रममा नीतिगत रुपमै हात्ती नियन्त्रणका लागि पहल गरिनुपर्ने, विद्युतीय झड्काहरु बिस्तार गरिनुपर्ने, कंक्रिट पर्खाल लगाइनुपर्ने सन्दर्भहरु उठे । सांसदले कुरा सुने, बिदा भए ।
गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, सांसद र नेताहरु दिउँसो आउँछन् र छलफल गरेर फर्कन्छन् । तर, स्थानीयले समस्या भोगिरहनुपर्छ । मंसीर २७ गते राति फेरि यमगज फक्र्याे र तान्डब देखायो ।
यद्यपि, गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहितले दबाब दिएपछि पर्सा राष्ट्रिय निकुन्जले मध्यवर्ती क्षेत्रमा रात्रीकालीन गस्तीका लागि नेपाली सेना परिचालन गरेको छ । तर, बगर क्षेत्रमा आएको यमगजले नरिवलको विरुवा रोप्नका लागि तारबार गर्न ठीक्क पारिएका २४ वटा पोल भत्काइदिएर क्षति पु¥याएको छ ।
‘रातभरि यमगजले तान्डब देखायो’, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत रहनु भएका मुक्तिनाथ अधिकारीले भन्नुभयो ।
दिनहुँ राति राति हात्ती आइरहने र क्षति पु¥याइरहने अनि दिउँसो दिउँसो नेता गइरहने र कुरा सुनाइरहने क्रम केही बर्षदेखि मध्यवर्ती क्षेत्रमा निरन्तर चलिरहेको छ । यद्यपि, ड्यामको छेउबाट बनाइएको विद्युतीय झट्का पूर्ण रुपमा नचलीकनै खेर गएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको लगानीमा विद्युतीय झट्का बनेपनि ट्रयाक्टरमा ग्रेवल उत्खनन् गर्नेहरुका कारण झट्का पूर्ण रुपमा असफल भएको थियो ।