मनहरी–असार २३ गते । मनहरी गाउँपालिकाले ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपियाँको बजेट पारित गर्नका लागि आयोजित १३ औँ अधिबेसनको दोस्रो बैठकमा तीनजना सभासदले बजेटप्रति असहमति प्रकट गर्नु भएको छ ।
असार २२ गते अध्यक्ष रन्जन कालाखेतीले अध्यक्षता गरिरहँदा उपाध्यक्ष सीता पुलामी मगरले बजेट र बिनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो । सो क्रममा दोस्रो कार्यसूचिमा ३ जना सभासदले सहभागिता जनाउनु भएको थियो ।
दोस्रो कार्यसूचिमा नाम टिपाएर बजेट बक्तब्यबारे धारणा राख्ने सभासदहरुमा सभासद नवराज सुवेदी, दिनेश चेपाङ र हिरालाल प्रजा रहनु भएको छ । उहाँहरुले विकास निर्माणका सन्दर्भमा बजेट बक्तब्यप्रति आफ्ना धारणाहरु राख्नु भएको थियो ।
बजेट ऊँटजस्तो आयोः नवराज सुवेदी
यो बजेट रुपरंग र अंगहरु नमिलेको जनावर भनेर ऊँटलाई चिनिन्छ भनिएजस्तै भयो । विकास निर्माण थुप्रै योजनाहरु छुटेका छन् । जनघनत्वको आधारमा बजेट सिलिङको व्यवस्था गरिएको पाइएन । म आफू बसाबास गर्ने र प्रतिनिधित्व गर्ने ७ नं वडाको जनघनत्वको आधारमा सिलिङ बजेटको व्यवस्था गरिएको छैन । अनावश्यक ठानिएको अध्यक्ष र उपाध्यक्ष भौतिक पूर्वाधार विकास कोषको नाममा करोड करोड रुपियाँ बिनियोजन भएको छ । यसमा मेरा आपत्ति छ । यो बजेट सुधार्न जरुरी छ ।
पाइप दिन नसक्ने सरकार, कस्तो सरकार हो: दिनेश चेपाङ
यो सरकारमा हामी छौँ । हामीले चुनाव जितेर आयौँ । तर कतिपय कामहरु चित्तबुझ्दो छैन । म कैयौँपटक गाउँँपालिका आएर खानेपानी पाइपको लागि बोलें । माग गरेँ । तर मलाई ‘तपाई चुप लाग्नुस्’ भनेर बोल्नै दिन खोज्नु भएन । बीमाको बारेमा पनि बोल्न खोजेँ कर्मचारीहरुले ‘चुप लाग्नुस्’ भने । अनि हामी यो गाउँपालिकाको कोही होइनौँ र ? किन यस्तो भइरहेको छ ? खानेपानी उपलब्ध गराउनका लागि पाइप किन्न नसक्ने सरकार कस्तो सरकार हो ? मैले यो बिषय आजै बिहान पनि अध्यक्ष रन्जन कालाखेती ज्यूलाई पनि फोन गरेर भनेको थिएँ । पाइप दिन नसक्ने सरकार के सरकार भन्नु ?
७२ घण्टाअघि सभाको जानकारी गराउनुपर्ने होइन र: हिराबहादुर प्रजा
गाउँसभामा आज हामी सहभागी छौँ । तर हामीलाई गाउँसभा हुने निमन्त्रणा हिँजो बेलुकामात्रै म्यासेज आयो । हामीलाई गाउँसभामा बोलाउनका लागि कम्तीमा ७२ घण्टाअघि जानकारी दिनुपर्छ जस्तो लाग्छ । त्यस्तो भएको छैन । अनि हाँडीखोलातर्फ सिंचाई अभाव हुँदा कृषि उपजको उत्पादन छैन । त्यसैले सिंचाइको व्यवस्थापन गरिदिनुपर्छ । बजेटमा यस्तो कुराहरु आइदिएको भए हुन्थ्यो ।
अध्यक्ष/उपाध्यक्षको जबाफ
उपाध्यक्ष सीता पुलामी मगर-यो बजेटमा चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । सबैलाई समेटेर बजेट आएको छ । त्यसैले धेरै चिन्ता नगर्नुहोला भन्न चाहन्छु ।
अध्यक्ष रन्जन कालाखेती-यो बजेटले अधिकाँश क्षेत्र र बिषय समेटेको छ । जहाँसम्म अध्यक्ष, उपाध्यक्ष विकास कोषको बारेमा चिन्ता गर्नु भएको छ, त्यो आवश्यकतामा आधारित हो । त्यो तपाईहरुकै वडामा आउने हो । अनि सिंचाईको कुरा जो छ, त्यो पनि हामी अध्यक्ष र उपाध्यक्ष कोषबाटै पनि सम्बोधन गर्छाै ।