Monday, March 17, 2025

प्रदेश प्रमुखबाट राक्सिराङको पलाँसेमा सीता–त्रिजटाको मूर्ति अनावरण हुँदै

ताजा / भरखरै प्राप्त

मनहरी–असार १७ गते । गुरु पूर्णिमाको दिन अर्थात असार १८ गते राक्सिराङ गाउँपालिकामा उच्च पदस्थ ब्यक्तिको आगमन हुँदैछ ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा राक्सिराङ गाउँपालिकाकै दीर्घकालीन प्रभाव देखिने पर्यटकीय केन्दमा स्थापित हुने भगवन सीता र त्रिजटाको मूर्ति प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ ।

डिभिजन वन कार्यालय राप्ती मनहरीले दिएको अनुसार बिहान ६ः३० बजेबाटै राक्सिराङ गाउँपालिका ३ पलाँसेमा हिन्दू धार्मिक विधिबाट पुजाआजा गरिनेछ ।

भ¥याङकाली मन्दिर परिसरसँगै जोडिएको अशोक घारी (हालको सीता अशोकबाटिका) भित्र निर्माण भएको भगवान रामकी पत्नी सीता र उनलाई रावण सेनाले अपहरण गरेर राखिँदा रेखदेखका लागि राखिएको महिला त्रिजटाको मूर्ति निर्माण भएको छ । ‘यो मूर्ति विश्वमै दुर्लभ छ’, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले भन्नुभयो–‘हामीहरुले सीता अशोक बाटिकामा सीता र त्रिजटाको मूर्ति एकै स्थानमा राख्ने दुस्साहस गरेका छौँ ।’

धर्म गुरुहरुले भगवानसँगै राक्षसको मूर्ति राख्न हुँदैन भनेर पनि नसुझाएका होइनन्, तर राक्षस पक्षधर भएपनि एउटी महिलामाथि परेको संकटमा सकारात्मक सहयोग गर्ने त्रिजटालाई पनि भूमिकाका आधारमा भगवान सरह नै मान्नुपर्ने तर्क बलियो भएकाले सीतासँगै त्रिजटाको मूर्ति राखिएको आचार्य बताउनुहुन्छ ।

‘लंकामा सीतालाई अपहरण गरेर रावणल लगेपछि सीताको रेखदेखका लागि राखिएकी त्रिजटाले सीतालाई हौसला भरिन्, बाँदर सेनासहितका राम लक्ष्मणले लंकामा जित्दै गरेको छिट्टै सीता र रामको भेट हुने अबस्था रहेको सकारात्मक सन्देश प्रबाह गरेर त्रिजटाले सीतालाई हतोत्साह हुनबाट रोक्थिन्’, आचार्यले भन्नुभयो–‘संकटमा परेकी एउटी महिलालाई अर्की महिलाले गरेको यो भन्दा ठूलो सहयोग के हुन सक्ला ?, यस्ती महिलालाई हामीले आम अन्यायमा परेका महिलाहरुको प्रतीकको रुपमा सम्झनुपर्छ र मूर्ति बनाउनुपर्छ भन्ने मनमा प¥यो ।’

सीताको पछाडितिर रहेकी त्रिजटालाई राक्षस बर्गकी भएकाले लामा लामा दाह्रा भएको, आँखा ठूलो भएको, भयानक रुपमा नदेखाएर उनको व्यवहार र सहयोगलाई सालीन रुपमा स्वीकार गरी सामान्य महिलाको आकृतिको रुपमा त्रिजटालाई प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

राक्सिराङ गाउँपालका र डिभिजन वन कार्यालय मनहरी राप्तीको समन्वयमा आगामी दिनमा राक्सिराङ गाउँपालिका केन्द्र चैनपुरनजिकै रहेको पचभैया ढिस्कोमा राम, लक्ष्मण, हनुमानसहितको बाँदर सेनाको समेत मूर्तिहरु बनाउने र सीता अशोक बाटिकामा रहेकी सीतालाई अपहरणमुक्त बनाउन बाँदर सेना अघि बढिरहेको सांकेतिक रुपमा दृष्य प्रस्तुत गर्ने तयारी छ । यसका लागि आगामी बर्षहरुमा बजेट बिनियोजन गरी काम अघि बढाइने गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ । भारतमा असाध्यै श्रद्धाका साथ मानिने राम, सीता र हनुमानको मूर्ति राक्सिराङमा स्थापन गरी धार्मिक पर्यटक भित्र्याउने योजना राक्सिराङ गाउँपालिकाको छ ।

नजिकै रहेको जलपरी झरना, अशोक बाटिका, गिरिङ्दीमा रहेको गुम्बा लगायतको क्षेत्रहरुमा पर्यटकलाई घुमाउने र स्थानीय होमस्टे सञ्चालन गर्ने योजना गाउँपालकाको रहेको मल्लको भनाई ।

अनावरण कार्यक्रममा भजन टोली, बाजागाजासहित संरक्षणकर्मीहरु, जनप्रतिनिधिहरु शिक्षक, विद्यार्थी, स्थानीय उपभोक्ताहरुको बाक्लो उपस्थिति हुने गरी व्यवस्थापन गरिएको आयोजक भ¥याकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव भारतीले बताउनुभयो ।

लोकप्रिय

Related Articles