मनहरी–असार २१ गते । पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुहरुलाई एउटै पीर हुन्छ–सार्बजनिक शौचालय । लामो दूरीका बस चालहरुहरु पनि आफ्ना यात्रुहरुलाई बस्तीभन्दा टाढै जंगल छेउमा दिशा–पिसाव गराउन पाए हुन्थ्यो भन्ने चिन्तामा हुन्छन् ।
राजमार्गमा यात्रा गर्ने कतिपय नयाँ यात्रुहरु त बेपरबाह राजमार्ग छेवैमा दिसा–पिसाव गरिरहेको पनि भेट्छौँ । उनीहरुका लागि सुविधासम्पन्न सार्बजनिक शौचालय नहुँदा कहिले त बस्ती छेवैमा सबारी साधन रोकेर यात्रुहरुलाई सुविधा दिनुपर्ने हुन्छ ।
यस्तै समस्याको समाधानका लागि पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी र सान्नानटार बस्तीको बीचमा रहेको भूभागलाई सार्बजनिक शौचालयको रुपमा विकास गर्ने सोच आयो ।
स्थानीय चनौटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिशरण पौडेल, वडाध्यक्ष नवराज सुवेदीसहित स्थानीय युवाहरुको चासो र चिन्ता सार्बजनिक शौचालयमा रहन गयो ।
गत बर्षदेखि उनीहरुले सार्बजनिक शौचालय बनाउने भनेर योजना अगाडि बढाइरहँदा अब त्यो क्षेत्र सार्बजनिक शौचालय मात्र होइन, पर्यटकीय स्थल समेत बन्न पुगेको छ ।
चनौटा सामुदायिक वन उपभोक्ता समूहको अगुवाईमा निर्माण भएको त्यो पार्कमा सार्बजनिक शौचालय त छँदैछ, अब सवारी साधन रोकेर चिया, कफी, आइसक्रीम खाने गज्जवको पार्क समेत बनेको छ ।
अझ आगामी योजना त झन् पर्यटक लक्षित छ । १९ नं वडाध्यक्ष नवराज सुवेदी भन्नुहुन्छ–‘पार्कभन्दा दक्षिणतर्फको राप्ती नदीको उकास जमिनमा पोखरी बनाएर स्वीमिङ सुविधा दिने हो भने यहाँ पर्यटकको घुइँचो नै लाग्छ ।’
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिशरण पौडेलका अनुसार अहिले सार्बजनिक शौचालयको सेवा सुचारु नगरिएपनि कतिपय भारतीय बससहितका यात्रुहरुले शौचालयको सुविधा खोजेर पार्क छेवैमा सबारी पार्किङ गर्ने गरेका छन् ।
समूहले राजमार्गको दक्षिणतर्फ कम्पाउण्ड गरी पार्क निर्माण गरेसँगै भगवान गौतम बुद्धको मूर्ति, हात्तीको मूर्ति, बाघको मूर्ति र सालक पार्क नै स्थापना गरेको छ ।
त्यससँगै बिरामी र अशक्त अबस्थामा फेला पारिएको जंगली पंक्षीहरुको उपचार कक्ष पनि स्थापना गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।
हेटौँडा उपमहानगरपालिका, डिभिजन वन कार्यालय राप्ती मनहरी लगायत निकायको सहयोग र स्थानीयको सक्रियतामा यो पार्कले पूर्णता पाउँदैछ ।
पार्कमा कफीबार भवन निर्माणाधीन छ भने थकाई मार्नका लागि बिश्रामगृहहरु निर्माण गरिएका छन् । आगामी दिनमा छुट्टै स्मोकिङ जोन, व्यवस्थित कफी र खाजा पसलहरु, चटपटे लगायत फास्ट फुडका साना घुम्ती ठेलाहरुलाई समेत व्यवस्थित गर्ने लक्ष्य रहेको छ ।
डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्यले यो पार्कलाई ‘ट्वाइलेट टूरिजम’ को रुपमा स्थापित गर्न चाहेको बताउनुहुन्छ ।
‘यहाँ आएर शौच गर्ने, खाजा खाने, चियाकफी खाने र नुहाउने समेत सुविधा मिलाउनेगरी हामीले पार्कलाई व्यवस्थित गर्ने सोच छ ।’, उहाँले भन्नुभयो–‘अलिक पछि बजेटको व्यवस्थापन भएमा भारतीय तिर्थालुहरुको बसलाई पार्किङ गर्ने, केही घण्टा आराम गर्नका लागि लजिङ सुविधा पनि दिने र उनीहरु आफैले पकाएर खान मिल्ने गरी किचेनको समेत व्यवस्थापन गर्ने लक्ष्य राखेका छौँ ।’
यसका लागि अहिले पार्क रहेको भागको सडकबाट उत्तरतर्फ रहेको जग्गालाई उपयोग गर्न सकिने उहाँको भनाई छ ।
स्थानीय सरकारले मात्रै चाहेर सबै कुरा सम्भव नहुने भएकाले स्वीमिङ लगायत ठूला योजनाहरुको लागि प्रदेश र संघीय सरकारसँग पहल गरिने र आगामी बर्षको योजनामा पोखरी निर्माणका लागि डिपिआर बनाउने कार्यलाई ध्यान दिइने १९ नं वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच यो पार्कको असार २२ गते १० बजे औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
शब्द/तस्वीरः शिवकुमार काशी, मनहरी लाइभ डटकम ।