Friday, September 13, 2024

पालिका भित्र जनसंख्या कम हुँदै गएपछि जनसंख्या वृद्धि गर्न नयाँ नीति

ताजा / भरखरै प्राप्त

राक्सिराङ–असार ९ गते । राक्सिराङ गाउँपालिकाले पालिका भित्र जनसंख्या कम हुँदै गएपछि गाउँपालिकाको जनसंख्या वृद्धि गर्न नयाँ नीति ल्याएको छ ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र बसाईसराई गर्न प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकाले प्रोत्साहन स्वरुप बसाईसरी आउनेलाई २ कोठे घर निर्माण गरिदिने भएको हो ।

“सुन्दर समाज हाम्रो सार, बसाई सरी आउनेलाई घर उपहार” भन्न्ने नाराका साथ पालिकाले उक्त नीति ल्याएको गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष थिङले राक्सिराङ गाउँपालिकामा बाहिरबाट जो–कोही परिवार बसोबास गर्ने गरी आएमा पालिकाले घर बनाइदिने बताउनुभयो ।

अहिले मान्छेहरु सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएको उहाँले बताउनुभयो ।

गाउँपालिकाबाट बर्षेनी बसाईसरी मनहरी लगायतका स्थानहरुमा जाँदा गाउँवस्ती पातलिन थालेको हो । तिव्र बसाईसराईको कारण अवको पन्ध्र, बिस वर्ष पछि गाउँ नै शुन्य हो कि भन्ने सवाल उठ्न थालेपछि यो नीति ल्याईएको उहाँले बताउनुभयो ।

गाउँपालिकाबाट अन्यत्र बसाई सरेर जान नदिन र गाउँपालिकाप्रति अन्य स्थानका मानिसलाई आकर्षित गर्न यो नीति ल्याइएको हो ।

गाउँपालिकाभित्र बसाई सरेर आउन चाहने जतिसुकै परिवार भए पनि गाउँपालिकाले सहर्ष स्वीकार्ने उपाध्यक्ष थिङले बताउनुभयो ।

शनिबार प्रस्तुत गरिएको बजेटमा पालिकाले आगामी आर्थिक वर्षका लागि ५९ करोड ९५ लाख २५ हजार रुपैयाँ बजेट ल्याएको छ ।

पालिकालाई केन्द्रबाट अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको थियो । शनिबार प्रस्तुत नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ ।

लोकप्रिय

Related Articles