मनहरी–असार ८ गते । आगामी असार १८ गते गुरु पूर्णिमाको अबसर पारेर राक्सिराङ गाउँपालिका वडा नं ३ पलाँसेमा रहेको सीता अशोक बाटिकामा भगवान सीता र त्रिजटाको मूर्ति प्राण प्रतिष्ठा हुने भएको छ ।
गुरु पूर्णिमाको दिन भब्य कार्यक्रम र धार्मिक समारोहका बीच सीता र त्रिजटाको मूर्ति प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
सीता अशोक बाटिकाको संरक्षण, सम्बद्र्धन गरी धार्मिक पर्यटनलाई टेवा दिनाका निम्ति सीता अशोक बाटिकामा भगवान सीता र अपहरणकालमा राक्षस बर्गबाट उनलाई रेखदेख गर्न राखिएकी त्रिजटाको मूर्ति स्थापना गर्न खोजिएको उहाँले बताउनुभयो ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार वनबास गएका रामकी पत्नी सीतालाई रावणले अपहरण गरेर लंका पु¥याएका थिए । अपहरित सीतालाई लंकाको अशोक बाटिकामा राखिँदा उनलाई सुरक्षा र रेखदेख गर्नका लागि रावण पक्षले त्रिजटा नामकी राक्षसी महिलालाई खटाएको थियो ।
तर, त्रिजटाले सीताको संरक्षण गर्दै सीतामा आत्मविश्वास भर्ने, राम र रावण पक्षको युद्धमा रामपक्षले जितिरहेको खबर दिने लगायतका सकारात्मक काम गर्ने गरेको धर्मग्रन्थहरुमा उल्लेख छ । राक्षस बर्गकी भएपनि त्रिजटाले सकारात्मक व्यवहार गरेकाले सीताले पनि त्रिजटालाई ‘माता’ भनी सम्बोधन गरेको धर्मग्रन्थहरुमा उल्लेख छ ।
भगवान राम भएको स्थानमा सीता र हनुमान अनिबार्य जस्तै रहेपनि सीता अशोक बाटिकामा त्रिजटा र सीताको मूर्ति स्थापना गरिनुलाई तत्कालीन अपहरणकालीन समयको सांकेतिक बोध गराउने माध्यम बनाइन खोजिएको डिभिजन वन कार्यालयका प्रमुख आचार्य बताउनुहुन्छ ।
‘हामीले नेपालमै पहिलोपटक सीता र त्रिजटाको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गर्दैछौँ’, आचार्यले भन्नुभयो–‘सीताले समेत माता भनेर सम्बोधन गरिएकी त्रिजटा राक्षस बर्गकी भएपनि राक्षस पक्षमा भन्दा सत्यको पक्षमा उभिएकीले सीतासँगै राख्न खोजेका हौँ ।’ उहाँका अनुसार सीता र त्रिजटाको मूर्ति मनहरीमा धमाधम निर्माण भइरहेको छ ।
स्थानीय भ¥याङकाली सामुदायिक वन उपभोक्ता समूहको अगुवाईमा मूर्ति स्थापना, निर्माण लगायतको काम भइरहेको छ । संघीय सरकारले बिनियोजन गरेको १० लाख बजेट कार्यान्वयन गरी सीता अशोक बाटिकामा मूर्ति प्राण प्रतिष्ठा गर्ने काम भइरहेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव भारतीले बताउनुभयो ।
असार १८ गते भब्य समारोह आयोजना गरी विधिपूर्वक पूजापाठ हुने र एक हजार दर्शक/भक्तजनको बीचमा प्राणप्रतिष्ठा कार्यक्रम गरी प्रचारात्मक काम गरिने उहाँले बताउनुभयो । भारतीय हिन्दूवादी भक्तजनलाई राक्सिराङ गाउँपालिकासम्म आकर्षित गर्नका लागि सीता र त्रिजटाको मूर्ति तथा सीता अशोक बाटिकाले महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।
भ¥याङकाली मन्दिर र भ¥याङधाराको बीचमा रहेको सीता अशोक बाटिकामा भगवान सीता र त्रिजटाको मूर्ति बनाइसकेपछि दक्षिणतर्फ रहेको मनहरी र चुर्लिङ खोलाको दोभानस्थित पचभैया डाँडामा श्रीराम, हनुमान र बाँदर सेनाको मूर्तिहरु समेत निर्माण गर्ने सोच रहेको डिभिजन वन कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।