Sunday, February 9, 2025

चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी हुँदा खर्चालु बनेको संघीयताले जनतामा चरम निराशा छायोः बानियाँ

ताजा / भरखरै प्राप्त

मनहरी–बैशाख २९ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले देशमा चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएर खर्चालु बनेको संघीयताले जनतामा चरम निराशा छाएको बताउनुभएको छ ।

जसको लागि पार्टीको विधान र देशको संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आवश्यक रहेको समेत सभापति बानियाले बताउनुभयो ।

मुलुकको हरेक परिवर्तनमा कांग्रेसको भूमिका अतुलनीय रहेको बताउँदै नेता बानियाँले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले जनताको विकास निर्माणमा दृढ भएर लाग्न निर्देशन दिनुभएको छ ।

जनप्रतिनिधले सोचेअनुरुप काम नगरे जनताले खबरदारी गर्नुपर्ने भन्दै जनता पनि सजग हुनुपर्ने उहाँले बताउनुभयो । नेता बानियाँले विगतमा भएको कमीकमजोरीको समीक्षा गर्दै कांग्रेसले आफूले गरेको विकासनिर्माण र समाज रुपान्तरणमा खेलेको भूमिका बारे जनतामा बुझाउँदै संगठन विस्तारमा लाग्न समेत निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलनमा बोल्दै बानियाले यस्तो बताउनुभएको हो ।

शुक्रबार मनहरी बजारमा सम्पन्न भएको सम्मेलनमा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाको सभाध्यक्षता तथा बानियाँको प्रमुख आथित्यता रहेको कार्यक्रममा विशेष अतिथि कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका जिल्ला सदस्य चन्द्रबहादुर न्यौपाने, कांग्रेस मकवानपुर २ (ख) का प्रदेश सभापति रञ्जन कालाखेती, महाधिवेशन प्रतिनिधिद्वय ठाकुर तितुङ र शंकर न्यौपाने, कांग्रेस मनहरी गाउँपालिका सचिव हरिचन्द्र शाही ठकुरीलगायतले पार्टीमा उठेका गुनासा, पार्टी सुदृढीकरण, निर्वाचनपछि पार्टीको अवस्था र भावी रणनीतिका बारेमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनहरी शाखाका नवनिर्वाचित सभापति मोहन कार्कीलाई सम्मान गरिएको थियो ।

लोकप्रिय

Related Articles