Sunday, February 9, 2025

हाँडीखोलाको महेन्द्रज्योति माविः के भइरहेको छ ? कसरी सुधार हुन्छ ?

ताजा / भरखरै प्राप्त

मनहरी–चैत १८ गते । मनहरी गाउँपालिका वडा नं ३ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालय सुधारका लागि हरेक बर्ष बहस र पहल हुने गरेको छ ।

तर, जति नै बहस भएपनि तीब्र राजनीतिक ध्रुवीकरण, अभिभावकको बेवास्ता र कतिपय शिक्षक–कर्मचारीको ‘राजाको काम, कहिले जाला घाम’ भन्ने सोचले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अबस्था थिलोथिलो नै देखिन्छ ।
यसबर्ष भर्खरै बार्षिक परिक्षा सकियो ।

बार्षिक परिक्षासँगै विद्यालय सुधारका अनेकन उपायहरु झिकिँदैछ । तर, अहिले अख्तियार गरेका उपायहरुले तत्कालै नतिजा दिँदैन ।

प्रधानाध्यापक गोविन्दप्रसाद चौलागाई भन्नुहुन्छ–‘डोजरले बाटो खन्यो भने आजको भोलि नै देखिन्छ, शैक्षिक सुधारका कुरा नतिजामा देखिने कुरा हो ।’

चैत १७ गते ३ नं वडा कार्यालयमा आयोजना गरिएको एउटा अन्तरक्रिया कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको वडाध्यक्ष अनन्तप्रकाश अर्यालको अगाडि एक अभिभावकले निकै मार्मिक कुरा सुनाउनुभयो ।

सबिता अर्यालले विद्यालयको बारेमा उठाउनु भएको कुराको सार यस्तो थियो–
१) विद्यार्थीले खानेपानीको सुविधा पाएका छैनन् ।
२) पानीको व्यवस्था नभएपछि शौचालय दुर्गन्धित छ ।
३) बार्षिक परिक्षा त दिइयो, तर किताबै नपाइकन कसरी परिक्षा दिए होलान् ?
४) हाजिरी रजिष्टर हेर्दा सबै शिक्षक उपस्थित छन् तर गन्ती गर्दा ५ जना शिक्षक विद्यालयमा भेटिएन ।
५) कक्षा ८ को परिक्षाका बेला पशुपतिनाथ मावि र महेन्द्रज्योतिका विद्यार्थीहरु झगडा गरे तर शिक्षकहरुले रमिता हेरेर बसे ।
६) शिक्षकहरु पढाउने अबधिमा पनि मोबाइलमै झुन्डिरहेका भेटिन्छन् ।
७) एसइइ परिक्षालाई पनि महत्व दिइएन ।
८) कम्प्युटर र साइन्स ल्याबको कथा पुरानै छ ।
९) विद्यार्थीहरु झाडीमा भेटिन्छन् अर्थात उनीहरुले के खान (लागूऔषध र धुमपान ?) झाडीमा जान्छन् ?
१०) राजनीतिले विद्यालय भताभुंगकै अबस्थामा छ ।

यी कुराहरु सुनेर पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रधानाध्यापक समेत केहीबेर स्तब्ध बने । विद्यालय सुधारका लागि सामूहिक प्रयत्न भएपनि अझै थुप्रै सुधार गर्न बाँकी रहेको अन्य सहभागीहरुले पनि थपथाप गर्नुभयो ।

अब पालो आयो जबाफ दिने । प्रधानाध्यापक चौलागाईले पोडियम बजाउँदै जबाफ फर्काए–
१) म पुस ९ गतेबाट प्रधानाध्यापक बनेर आएको हुँ ।
२) म आउँदा विद्यालयको खातामा ७ हजार मौज्दात थियो ।
३) सुधारका प्रयत्न गर्दैछु, एक–डेढ बर्षमा सुधार गरेर देखाउँछु नै ।
४) केही शिक्षक सिर्जनात्मक छन्, केही अह्राएको मात्रै मान्नेखाले छन् र केही नेगेटिभ कुरा गर्ने मात्रै खाले शिक्षकहरु छन् ।
५) अब शिक्षकहरु सुधारको काम थाल्छु, तपाईहरु राजनीतिक दलको खोल बोकेर गलत शिक्षकलाई कारबाही गर्दा उफ्रन नआउनुहोला ।
६) अब तत्कालै पर्खाल बन्नेछन् त्यसपछि कम्प्युटर, झ्यालढोका, फ्यान सबै सुरक्षित हुनेछ ।
७) विद्यार्थीहरु झाडीमा गए वा अनुशासनहीन भए भन्ने कुरामा शतप्रतिशत सत्यता छैन, सुधारोन्मुख छ ।
८) छिट्टै अभिभावक भेला गर्दैछौँ, धेरै कुरा त्यही भेलामा बोल्नेछु ।
९) विद्यार्थी बिग्रियो भनेर अन्ुशासन सिकाउन खोज्दा मुठी बटारेर आउने अभिभावकहरु पनि छन् ।
१०) शिक्षक वा विद्यालयलाई मात्रै गाली गरेर हुँदैन, अभिभावकहरुले पनि पूर्ण रुपमा साथ र सहयोग गर्नुपर्छ ।

यति जबाफ भाँती पु¥याएर प्रधानाध्यापकले फर्काएपछि अब सहभागीहरुको मुख लगभग बन्द भयो । त्यसपछि सबै मिलेर विद्यालय सुधार गर्ने प्रतिबद्धता जनाइएको छ ।

अबको शैक्षिक सत्रमा निर्मम ढंगले शिक्षक र विद्यार्थीहरुलाई सुधारको प्रयत्न हुने वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्त प्रकाश अर्यालले बताउनुभयो । ‘मलाई सामाजिक रुपमा राजनीतिक रुपमा घाटा होला, तर विद्यालय सुधारका लागि म ती सबै घाटा ब्यहोर्न तयार भएको छु’, अर्यालले भन्नुभयो–‘तुलनात्मक रुपमा हामीले विद्यालयलाई सुधार्दै लगिरहेको अबस्था हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै ३ नं वडामा कृषि, स्वास्थ्य, पशु, खानेपानी, भौतिक विकास लगायत क्षेत्रमा उठेका सबालहरुबारे गाउँपालिका अध्यक्ष कालाखेतीले ४ बर्षे अबधिमा सबै गुनासोहरु साम्य हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ट्युबवेल सेट मार्फत खानेपानी व्यवस्थापनमा कन्जुस्याइँ नगरेको बताउँदै अध्यक्ष कालाखेतीले भन्नुभयो–‘८–१० घरको खानेपानी समस्या समाधान ट्युबवेल प्रयोग गरेर हुन्छ भने म भोलि नै व्यवस्था मिलाउँछु, सिफारिस लिएर गाउँपालिका कार्यालय आउनू ।’

कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगरले महिला, बालबालिका, ज्येष्ठ नागरिकका समस्या समाधानका लागि पनि गाउँपालिका उत्तिकै चनाखो भएर लागिपरेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख शैलेस बास्कोटा, पशु विकास शाखा प्रमुख बरुण कुमार ठाकुर लगायतले पनि गुनासाहरुको जबाफ दिनु भएको थियो ।

इन्सेक र डब्लुपीडीले सञ्चालन गरेको अधिकार र आर्थिक विकास मार्फत महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित अन्तरक्रियामा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपाल, डब्लुपीडीका तिलकुमारी हुमागाई लगायतको उपस्थिति थियो भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी शिवकुमार काशीले गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles