राक्सिराङ–पुस २५ गते । राक्सिराङ गाउँपालिकाले ९ वटै वडामा मेलमिलाप केन्द्र गठन गरेको छ ।
स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यका साथ गाउँपालिकाले ९ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक बनस्तम थिङले बताउनुभयो ।
स्थानीय स्तरमा हुने स–साना झगडा, विवादलगायत घटना पालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्नका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरि मेलमिलापकर्ताहरुलाई आधारभूत मेलमिलाप तालिम समेत प्रदान गरेको उहाँले बताउनुभयो ।
मेलमिलाप केन्द्रका सहजकर्ताहरुलाई सेलर्ड मकवानपुरको सहकार्यमा ८ दिने तालिम प्रदान गरिएको हो ।
न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।
गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिएको उपाध्यक्ष थिङले बताउनुभयो ।