मनहरी–मंसिर २० गते । मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर (रेखा) ले राज्यले महिलालाई यथोचित ब्यबस्था गर्ने भन्दै गर्दा र प्रयास हुँदै गर्दा अझै महिला हिंसा हुनु दुखद घटना भएको बताउनुभएको छ ।
इन्सेक वागमती प्रदेशले मंगलबार मनहरीमा आयोजना गरेको महिला माथी हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरुबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
साथै कार्यक्रमा बोल्दै उहाँले हिंसा सहेर नबस्न आग्रह समेत गर्नुभएको छ । सचेत महिलाहरुनै हिंसामा परेको देख्दा तल्लो तहको महिलाको अवस्था कस्तो होला भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
महिला भनेको मायाको खानी हौ भन्दै हिंसा लाई कमि गराउन घरको सदस्यलाई अलि माया देखाउन उपस्थित महिलाहरुमा आग्रह समेत गर्नुभयो ।
त्यस्तै हिंसा न्यूनीकरण गर्न सिंगो गाउँपालिका टिम नै लागिपर्ने बताउनुभएको छ । पालिका भित्रका महिला समुहलाई सक्रिय भएर गाउपालिका संग सङ्गै हातेमालो गर्दै अगाडि आउन समेत आग्रह गर्नुभयो ।
साथै अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरु लागू पदार्थको सेवनले महिला हिंसामा परेको, ज्याला गरेको पैसा मात्र आफुले प्राप्त गर्ने गरेको लगायतको समस्या भोग्नु परेको दुखेसो व्यक्त गरे ।
त्यस्तै छोरोबाट अपहेलना, श्रीमानबाट अपहेलना, अर्कि महिला सङ्ग लागेर घरकी श्रीमती बेपत्ता जस्ता विषयमा कार्यक्रमका सहभागीहरुले रुदै मनको बेदना पोखेका थिए ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ का वडा अध्यक्षहरु, स्थानीय सञ्चारकर्मी तथा स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो भने इन्सेक वागमती प्रदेशका सुपरभाइजर तिल कुमारी हुमागाईको सभाध्यक्षतामा भएको हो ।