Sunday, February 9, 2025

गायिका एलिना चौहानले मनहरी आएर भनिन्–‘धोकेबाज हौ तिमी’

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २६ गते । पाँचौ मनहरी महोत्सवको उत्तरार्धतिर शुक्रबार मनहरी आइपुग्नु भएकी चर्चित गायिका एलिना चौहानले दर्शकसामु फर्केर ‘धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी’ भन्नु भएको छ । उहाँको पहिलो प्रस्तुतिमै रहेको यो बोलको गीतमा दर्शकले उहाँलाई प्रश्न गरेनन्, बरु स्वर मिलाउँदै गायिका चौहानलाई नै साथ दिए ।

चौहानको गीत सुन्नका लागि शुक्रबार दिउँसैदेखि महोत्सव स्थलमा चहलपहल बढेको थियो । खासगरी टिनएजरमा बढी चर्चित गायिका चौहानलाई सुन्न, हेर्न र फोटो खिच्न विद्यार्थीहरु विद्यालय सक्नासाथ महोत्सव स्थलमा पुगेको देख्न सकिन्थ्यो । कार्यक्रम अबधिभर फोटो खिच्न चाहने दर्शकहरुबाट चौहानलाई छुटाउन हम्मेहम्मे परिरहेको थियो ।

चौहानले ‘धोकेबाज हौ तिमी’ सँगै ‘मिनरल वाटर, खान्छौँ क्वाटर’, हालै सार्बजनिक भएको ‘कट्टा हान्दिन्छु’ लगायत आफैले गायका चर्चित गीतहरु पस्कनु भएको थियो । त्यसका अलवा पुराना सर्जकहरुले गाएका गीतहरु पनि उहाँले प्रस्तुत गर्नु भएको थियो ।

त्यसअघि मकवानपुरे चेली एबम् चर्चित लोकदोहोरी गायिका चन्दा अर्यालले प्रस्तुति दिनु भएको थियो । उहाँले ‘खान्न म त पिँडालु कुक्यायो, मै सोझोलाई मायाले झुक्यायो’, ‘स्याउ ल्याइदिउँ कि केरा’ जस्ता लोकप्रिय गीतहरु गाउनु भएको थियो । युवा कमेडियन दिनेश काफ्लेको कमेडी सुनेर दर्शकहरु पेट मिची मिची हाँसिरहेका थिए ।

चौहान, अर्याल, काफ्लेका अलावा शितल कल्पना, रश्मिता सेन्चुरी, ऋतु कँडेलसहित आस्था कला केन्द्रका कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गर्नु भएको थियो ।

भोलि शनिबार सोनाम ल्होछारको दिन कलाकारहरु मार्मिक लामा, संजीव सिं वाइबा, अन्जु थोकर, लक्ष्मी लामा, रविनकुमार चेपाङ, बालिका तामाङ, गोविन्द बर्ताैला लगायतको प्रस्तुत रहने बताइएको छ ।

यसैबीच राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान मकवानपुरले आयोजना गरेको लाइभ दोहोरी गीत प्रतियोगिता दोहोरी प्रतिष्ठान चितवन (क) ले बिजय हासिल गरेको छ । बिजयी भएसँगै उसले नगद २० हजार रुपियाँ रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी उप बिजेता दीपेन्द्र पुनको समूह भएको छ भने तृत्तीय स्थानमा बिनोद अर्याल समूह पुगेको छ । सान्त्वना पुरस्कार दोहोरी प्रतिष्ठान चितवन (ख) ले प्राप्त गरेको छ । उत्कृष्ट गायक बिशाल सुनार घोषित हुनु भएको छ भने उत्कृष्ट गायिका भावना शाही घोषित हुनु भएको छ ।

लोकप्रिय

Related Articles