Sunday, October 13, 2024

मनहरी महोत्सवमा हिँजो ‘बहुला गायक’ र प्रतिमाले नचाइन्, आज ज्योति मगरको पालो

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २५ गते । पाँचौ मनहरी महोत्सवको दशौँ दिन आज माघ २५ चर्चित गायिका ज्योति मगरको प्रस्तुति हुने भएको छ ।

गायिका तथा मोडल मगरले एउटा भिडियो सन्देश पठाउँदै पाँचौ मनहरी महोत्सव स्थलमा सहभागी हुन सबै दर्शक स्रोताहरुलाई आह्वान गर्नु भएको छ । आज माघ २५ गते साँझ मनहरी महोत्सवमा गायिका मगरले धमाका मच्चाउने तयारी छ ।

हिँजो नवौ दिन चर्चित दोहोरी गायिका प्रतिमा अर्याल र लोक आधुनिक गायक रमेशराज भट्टराईले मनहरीबासी दर्शकको मन जितेका छन् ।
उनीहरुले आफ्ना दर्जनौँ लोकप्रिय र चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले उत्तेजित हुँदै नाचेर साथ दिएका थिए ।

गायक भट्टराई ‘बेहुला बनाउँछु भन्थी, बहूला बनाएर गई’ बोलको लोकप्रिय गीतका गायक हुनुहुन्छ । उहाँले उक्त बोलको गीत सहित ‘टन्न पैसा कमाउन मन थ्यो, सुखैसुखमा रमाउन मन थ्यो’ लगायतका लोकप्रिय गीतहरु गाउनु भएको थियो । उहाँले गीत गाइरहँदा दर्शकहरुले उहाँसँगै गाएर र नाचेर साथ दिएका थिए ।

यता काठे लोक भाकाका चर्चित गायिक तथा मकवानपुरे सर्जक प्रतिमा अर्यालले ‘कि कटाइदेउ एइ गनगन थानकोटको डाँडो, कि त ल्याइदेऊ मेटासिड एक भाँडो’ बोलको गीतसहित ‘सेतो सेतो ए माया कमेरो माटो, झल्को आउँछ नहिँड त्यो बाटो’ बोलको गीत र अन्य लोकदोहोरी गीतहरु गाउनु भएको थियो । दर्शकदिर्घामै ओर्लेर उहाँले दर्शकहरुसँगै झुम्मिएर गीत प्रस्तुत गर्नु भएको थियो ।

उहाँहरुसँगै कार्यक्रममा जिवी सुनार, आयुष्मा केसी, जसु अधिकारी र रुयल सुनारसहित आस्था कला केन्द्रका कलाकारहरुको प्रस्तुति थियो । साथै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुर शाखाले आयोजना गरेको लाइभ दोहोरी गीत प्रतियोगिता जारी नै छ ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।

लोकप्रिय

Related Articles