Wednesday, February 18, 2026

पशुपतिनाथ माविको स्वर्ण महोत्सवमा बद्री पंगेनी र प्रतिमा अर्याल आउने

ताजा / भरखरै प्राप्त

मनहरी–मंसीर ९ गते । मनहरी गाउँपालिका वडा नं ४ मा रहेको पशुपतिनाथ मावि स्थापनाको ५० बर्ष पुगेको अबसरमा स्वर्ण महोत्सव आयोजना गर्ने भएको छ । जस अनुसार मंसीर ८ गतेदेखि साताब्यापी कार्यक्रम र क्रियाकलापहरु सञ्चालन भइरहेका छन् ।

मंसीर ८ गते विद्यालय परिसरमा रहेको नेपालको राष्ट्रिय झण्डोत्तोलन गरी साताब्यापी कार्यक्रमको सुरुवात गरिएको छ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरी कार्यक्रम सुरु भएको घोषणा गर्नुभयो ।

साताब्यापी कार्यक्रम अन्तर्गत नर्सरी कक्षादेखि १० कक्षासम्मकै खेलकुद, लेखन तथा पठन अभ्यास लगायत विभिन्न क्रियाकलापहरु समेटिएका छन् । कार्यक्रम सुरुवात भएकै दिन पनि चम्चादौड, बोरादौड लगायतका खेलहरु सञ्चालन भएका थिए

मंसीर १२ गतेदेखि भने मनहरी गाउँपालिकाभित्र रहेको माध्यमिक विद्यालय तहमा अध्ययन गरिरहेका छात्रहरुको भलिबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता गोलघरको चौरमा हुनेछ । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुने टिमलाई नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बताउनुभयो ।

भलिबल प्रतियोगिता सकिएपछि मंसीर १५ गते ठूलो र भब्य समारोह आयोजना गरी महोत्सवको समापन हुनेछ । समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहभागी हुने कार्यक्रम तय भएको अध्यक्ष गौतमले बताउनुभयो ।

समारोहमा लोकप्रिय गायक बद्री पंगेनी र मकवानपुरे काठेभाकाकी गायिका चन्दा अर्याल समेत आउने तयारी भएको मनहरी गाउँपालिका ४ नं वडाध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई भब्य ढंगले सञ्चालन गर्ने, हालसम्म योगदान गर्नुहुने अग्रजहरुको सम्झना र स्मरणसहित सम्मान गर्ने लगायतका खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सपना लामाले बताउनुभयो । नेपालकै लोपोन्मुख जाति बनकरियाको बसोबास रहेको यो वडामा स्थापित पशुपतिनाथ माविमा अहिले झण्डैं ६ सय जना विद्यार्थी अध्ययनरत छन् ।

अध्यक्षद्वारा विपन्नलाई पोशाक बितरण
यसैबीच पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत बिपन्न समुदायका बालबालिकालाई मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको तर्फबाट पोशाक बितरण भएको छ । आफूलाई प्राप्त हुने तलब भत्ताबाट प्राप्त हुने रकमले २३ जना बालबालिकालाई पोशाक किनेर बितरण गरिएको उहाँले बताउनुभयो । स्वर्ण महोत्सवमा झण्डोत्तोलन गरिएकै समयमा एक समारोहका बीच अध्यक्ष कालाखेतीले बालबालिकालाई पोशाक बितरण गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles