Wednesday, February 18, 2026

मनकामना सामुदायिक वनले बर्षैभरि काठ बितरण गर्न सक्ने

ताजा / भरखरै प्राप्त

मनहरी–असोज २५ गते । मनहरी गाउँपालिका ७ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहले वन पैदावारको अभाव नरहेको जनाएको छ ।

वन समूहको २० औँ बार्षिक साधारण सभामा अध्यक्ष सुरेश मुक्तानले यस्तो जानकारी गराउनु भएको हो ।
‘अहिले हामीले ३६५ दिन नै काठ बितरण गर्ने क्षमता राखेका छौं’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘पहिला पहिलाजस्तो काठका लागि पालो कुरेर बस्नुपर्ने बाध्यता अहिले छैन ।’

उहाँले आफूले नेतृत्व सम्हालेको पहिलो बर्ष काठ बितरण गर्दा केही दुरुपयोग भएको समेत पाइएको बताउनुभयो । दुरुपयोग भएको थाहा पाएपछि आवश्यकतामा आधारित रही उपभोक्तालाई काठ बितरण गरिएको र अहिले पनि आवश्यक परेर काठ माग्ने बित्तिकै दिन सक्ने अबस्था रहेको उहाँकोे भनाइ थियो ।

जथाभावी काठ बितरण गर्दा बिक्री बितरण हुने भएकाले आवश्यकताको अनुगमन र निरीक्षणपछि मात्रै काठ बितरण गर्ने गरेको अध्यक्ष मुक्तानले बताउनुभयो । अहिले पनि घाटगद्दी र कार्यालयमा चिरान काठ उपलब्ध गराइएको र जुनसुकै बेला आवश्यकता अनुसार बितरण गर्न सकिने उहाँको भनाई थियो ।

साधारण सभामा अध्यक्ष मुक्तानले प्रगति बिवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो । समूहकी कोषाध्यक्ष मनिषा स्याङ्तानले गत आर्थिक बर्ष २०८१÷०८२ मा ६५ लाख रुपियाँ बराबरको कारोबार भएको जानकारी सार्बजनिक गर्नु भएको थियो ।

त्यसैगरी चालू आर्थिक बर्षमा विभिन्न शीर्षकमा खर्च तथा आम्दानीको विवरण सार्बजनिक गर्दै समूहकी सदस्य लक्ष्मी प्रजाले ६७ लाख रुपियाँ बराबरको कारोबार हुने अनुमानित बजेट सार्बजनिक गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेमबहादुर थापाले डिभिजन वन कार्यालयको आँगनमै रहेको मनकामना सामुदायिक वनको कार्यशैली, आर्थिक विवरण र अन्य क्रियाकलापहरु पारदर्शी र सन्तोषजनक रहेको बताउनुभयो ।

उहाँले वन जोगाउने बिषयमा नयाँ जेन्जी पुस्तालाई समेत साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिका ७ वडाध्यक्ष ठाकुरराम तितुङ, सव डिभिजन वन कार्यालय मनहरीका प्रमुख डोटेन्द्र गोले, मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनकुमार जोशी, समूहका पूर्व अध्यक्ष गौतम लामा, डिपाड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर मुक्तान, उपभोक्ताका तर्फबाट धर्मराज स्याङ्तान लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles