Wednesday, February 18, 2026

मनहरीका सबै विद्यालयहरु सञ्चालनमा, आन्दोलनले शिक्षा शाखा अभिलेखबिहिन

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २९ गते । मनहरी गाउँपालिकाभित्रका सबै विद्यालयहरु आइतबारबाट सुचारु गरिएको छ । सामुदायिक र निजी विद्यालय गरी मनहरी गाउँपालिकामा रहेका ४० वटा विद्यालयसहित मन्टेश्वरी र बाल विकास केन्द्रहरु सञ्चालनमा आएको युवा, खेलकुद तथा शिक्षा शाखाले जनाएको छ ।

‘कुनै पनि विद्यालयमा आन्दोलनकै कारण अबरोध खडा भएको वा समस्या परेकोबारे हामीलाई जानकारी छैन’, शाखा प्रमुख प्रदीप पराजुलीले भन्नुभयो–‘आइतबारबाट सबै विद्यालयहरु सुचारु भएको जानकारी हामीलाई छ ।’
जेनजी पुस्ताको आन्दोलनका कारण शाखाका सबै अभिलेखहरु ध्वस्त भएको उहाँले जानकारी दिनुभयो ।

शाखामा रहेका विद्यालयका अद्यावधिक कागजपत्र रहेका फाइलहरुलाई आन्दोलनकारीले बाहिर ल्याएर जलाएका थिए । त्यसैगरी टेवुल, कुर्सी, कम्प्युटर र अन्य सबैखाले कागजपत्र ध्वस्त भएको उहाँले बताउनुभयो ।

‘हामीसँग अनलाइनमा स्टोर रहेका डकुमेन्टहरु मात्रै बाँकी छ’, पराजुलीले भन्नुभयो–‘अबको २ महिनाजतिमा पुनः अभिलेखहरु रिकभर गर्नेगरी काम गर्ने सोचेका छौं ।’

मनहरी गाउँपालिकाको वडा नं ३ लामिटारमा रहेको ख ब्लक भवनमा युवा, खेलकुद तथा शिक्षा शाखा रहेको छ । शिक्षासँगै स्वास्थ्य शाखामा पनि आगजनी गरी क्षति गराइएको छ गाउँसभा र महत्वपूर्ण कार्यक्रमहरु सञ्चालनका लागि निर्माण र व्यवस्थित गरिएको एसीसहितको हलसमेत पूर्ण रुपमा क्षति गराइएको गाउँपालिकाले जनाएको छ ।

लोकप्रिय

Related Articles