Wednesday, February 18, 2026

चेपाङको गुनासोः गणतन्त्रपछि चेपाङ विकास कार्यक्रम किन रद्द भयो ?

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ ९ गते । चेपाङ समुदायले पन्चायत कालदेखि नै सञ्चालनमा ल्याइएको चेपाङ विकास कार्यक्रम (तत्कालीन प्रजा विकास कार्यक्रम) किन रद्द गरिएको हो भन्दै सरकारसँग जबाफ मागेको छ ।

चेपाङ समुदायको बाहुल्यता रहेको निर्वाचत क्षेत्रबाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ नै मुख्यमन्त्री बनेको मौका छोपेर चेपाङ समुदायका सबालहरुबारे ध्यानाकर्षण गराइएको हो ।

नेपाल चेपाङ संघ जिल्ला कार्यकारिणी समिति मकवानपुरले मुख्यमन्त्री बानियाँलाई भेटेर ९ बुँदामा ध्यानाकर्षण गराएको हो । जस अनुसार बुँदा नं ७ मा २०३४ सालदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम गणतन्त्रपश्चात रद्द भएकाबारे रोष ब्यक्त गर्दै यसले समग्र चेपाङ समुदायको विकासमा अबरोध भइरहेको उल्लेख गरिएको छ ।

बागमती प्रदेश सरकारले उक्त कार्यक्रम तत्कालै बजेटको व्यवस्थासहित सञ्चालन गर्नुपर्ने माग गरिएको संघका जिल्ला कार्यकारिणी समितिका अध्यक्ष महेश कुमार चेपाङले बताउनुभयो ।

९ बुँदे ध्यानाकर्षण पत्रमा चेपाङ बस्ती रहेका क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी बजेट व्यवस्थापन गरिनुपर्ने, हरेक बर्ष १० जना चेपाङ विद्यार्थीलाई आइटी, विज्ञान, कृषि, स्वास्थ्य लगायत सेवाको प्राविधिक अध्ययनका लागि व्यवस्था मिलाइदिन्ुपर्ने, अहिले पनि चेपाङ समुदायका मानिसहरुको नागरिकता नभएको पाइएकाले नागरिकताको सहज व्यवस्थाप गरिदिनुपर्ने, चेपाङ समुदायका बालबालिकाहरु भोकभोकै विद्यालय जानुपर्ने बाध्यता रहेकाले सो समस्या समाधानका लागि ध्यान दिनुपर्ने लगायतका बिषयहरु समेटिएका छन् ।

त्यसैगरी सरकारले चेपाङ समुदायका लागि हस्तान्तरण गरेका जग्गाको स्वामित्व विभिन्न बहानामा सरकारकै मातहतमा राखिएकाले ती जग्गाको स्वामित्व सम्बन्धित चेपाङलाई नै दिइनुपर्ने, जल, जंगल, जमिनको उपयोगमा चेपाङको पहुँच बिस्तार हुनुपर्ने, चेपाङको रीतिथिति र संस्कृतिको संरक्षणका लागि खास कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्थानीय मौलिक उत्पादनहरुको प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने कुराहरु ९ बुँदामा उल्लेख छ ।

जिल्ला अध्यक्ष महेशकुमारका अनुसार मुख्यमन्त्री बानियाँलाई चेपाङले उत्पादन गर्ने स्थानीय जातको मौरीको मह, कागुनो, घैया लगायत मौलिक र परम्परागन खाद्य सामग्रीसहितको जाबी (चेपाङले बोक्ने प्वालैप्वाल भएको झोला) हस्तान्तरण गरिएको थियो ।

चेपाङ समुदायको माग र ध्यानाकर्षण बुझ्दै मुख्यमन्त्री बानियाँले आफूले चेपाङ समुदायकै भूगोलबाट निर्बाचित भएर आउँदा त्यहाँका अबस्था राम्ररी बुझेकाले केही ठोस कार्यक्रम सञ्चालन गर्न कटिबद्ध रहेको बताउनुभयो । बधाईसहित ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा चेपाङ समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles